कोरोना त्रासबीच जनैपूर्णिमा मनाइँदै

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


आज साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा पर्व । चूडाकर्म गरेका आमतागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । तर विगत वर्षमा जस्तो यसपालिको जनपूर्णिमा पर्व मनाउन सहज छैन । किनकि हाम्रा सामु कोराना भाइरसको महामारी सकिएको छैन ।

कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा तलाउ कुण्डमा स्नान गरेर जनै फेर्ने र रक्षाबन्धन लगाउने प्रचलन पुरानो हो ।

चुडाकर्म गरेका वा नगरेका सबैले यो दिन पुरोहितद्वारा नाडीमा डोरो बाँध्ने प्रचलन छ । हिन्दूशास्त्र अनुसार जनैलाई ब्रह्मासूूत्र वा ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको ६ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिन्छ ।

राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरेर जोगाएको पाइन्छ । त्यसैगरी वामन अवतार विष्णुले राजा वलीलाई मन्त्र साँधिएको डोरी बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किंवदन्ती योसँग पनि जोडिएको छ ।

यसदिन जल, कुश तिलद्वारा सप्तऋषि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । त्यसैले यो दिन ऋषितर्पणी नामले पनि चिनिन्छ ।

यसैबीच, जनै पूर्णिमाको दिन घरघरमा क्वाँटी खाने प्रचलन छ । नेवार समुदायमा मात्र सीमित यो प्रचलन अहिले सबैतिर लोकप्रिय छ ।