
बागलुङको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् ।
पहिरोले निसीखोला गाउँपालिका–१, देवीस्थान खाराका स्थानीय नरेन्द्र कँुवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ ।
पहिरोले खारा बजारका अन्य ७ घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन् । वर्षा हुँदा साथ आउन सक्ने पहिरोको जोखिमले स्थानीय त्रासमा छन् । जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने पुरिने जोखिममा भएपछि ९ घर परिवार विस्थापित भएको निसीखोला–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए ।
ढोरपाटन नगरपालिका–८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन् ।
शनिबार बिहान खसेको पहिरोले स्थानीय काली विक, पोप्ची विक, बाँवरी विक र रोशन विकको घर जोखिममा परेको हो । पहिरोकै कारण सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ ढोरपाटन खण्ड अवरुद्ध भएको छ ।
थप जोखिम र भयको अवस्था रहेको पहिरो प्रभावित रोशन विकले बताए ।