गण्डकी प्रदेश सरकारलाई १३ लाखको स्वास्थ्य सुरक्षा सामग्री

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


पोखरा, १९ साउन । गण्डकी प्रदेशबाट हङकङलाई कर्मभूमि बनाएका नेपालीले जन्मभूमि सम्झेका छन् । हङकङमा बस्ने नेपालीहरुले १३ लाख ५ हजार मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदेश सरकारलाई प्रदान गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मुख्यमन्त्री पृृथ्वीसुब्बा गुरुङलाई गण्डकी प्रदेश सहयोग समिति हङकङबाट १ सय ५० सेट पिपिइ, २ सय ५० थर्मलगन, ६ हजार थान के–९५ मास्क, ५ हजार थान रबर ग्लोब्स् सहयोग समितिका सदस्य विरोधविक्रम गुरुङ, शशीकुमार गुरुङ, चन्द्र गुरुङ, अमृत गुरुङ, शंक्रर गुरुङले लगायतले हस्तान्तरण गरे । कोभिड–१९ गण्डकी प्रदेश सहयोग समिति हङकङद्वारा संकलित सहयोगबाट स्वास्थ्य सुरक्षा सामग्री खरिद गरिएको थियो।

यस्तै, हङकङलाई कर्मथलो बनाएका समाजसेवी लमजुङ क्होलासोथर पसगाउँका दिलीप गुरुङले गाउँपालिकालाई ८० हजार मूल्य बराबरको २० वटा थर्मल गन, सर्जिकल मास्क १ हजार, के एन ९५ मास्क १ सय, प्लाष्टिक्र ग्लोब्स १ हजार वटा सहयोग हस्तान्तरण गरे ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हङकङमा रहेर जन्मभूमिको समस्यामा साथ दिएकोमा धन्यवाद दिए । महामारी बीचबाटै प्रदेश सरकारको समस्यालाई आफ्नै ठानी सहयोग अभियान गर्ने अभियन्ताहरुलाई आभार प्रकट गरे ।

कार्यक्रममा युवा समाजसेवी विरोधविक्रम गुरुङ, चन्द्र गुरुङ र शशीकुमार गुरुङ बोलेका थिए ।