गण्डकी सरकारले दियो प्रहरीलाई सवारीसाधन

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित



गण्डकी प्रदेशका ट्राफिक प्रहरी अब बुलेट बाइक चढेर ड्यूटीमा खटिने भएका छन् । गण्डकी सरकारले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि बुलेट बाइकसहित २८ मोटरसाइकल र ४ थान टाटा पिकअप भ्यान सहयोग गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई ती सवारीसाधनको चाबी हस्तान्तरण गरेका छन् ।

प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गरी नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दलिाउन गण्डकी प्रदेश सरकारले प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र २८ थान मोटरसाइकल (पल्सर १८, टीभीएस अपाचे ५ र बुलेट ५ थान) हस्तान्तरण गरेको हो ।

मुख्यमन्त्री गुरुङले शान्तिसुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश मप्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुबाट उल्लेख्य कार्य भइरहेको बताउँदै हस्तान्तरण गरिएका सवारीसाधनहरुले प्रहरी काम कारवाहीमा चुस्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा डीआईजी घनश्याम अर्यालले सवारीसाधनले शान्तिसुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो संवेदनशील जिम्मेवारी वहन गर्दै पारदर्शीता, जवाफदेहिता र व्यावसायिक निष्ठापूर्वक कार्यसम्पादन गर्ने काममा मद्दत मिल्ने बताए ।

उनले संगठनका तमाम समस्या र चुनौती परास्त गर्न जिम्मेवारीको बोध, व्यावसायिक सामथ्र्य र जवाफदेहिताको कानूनी र नैतिक साहस आवश्यक भएको बताउँदै उपलब्ध जनशक्ति तथा साधनश्रोतको उचित एवं प्रभावकारी ढंगबाट सदुपयोग गर्ने बताए ।