
पोखरा, १९ साउन । अघिल्लो महिनादेखि बेपत्ता १९ वर्षीय पंकज गिरी सोमबार भालु पहाडमा मृत फेला परेका छन् । असार १८ मा स्याङ्जाबाट बुलेट चढेर पोखरातर्फ आएका उनी बेपत्ता भएका थिए । उनी कहाँ गए भनी खोजी जारी राखिएको थियो ।
स्याङ्जाको चापाकोट–५, सेखाम घर भई पोखरा–५, पस्र्याङ बस्ने गिरी सोमबार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा–सुनौली सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भालुपहाडमा राजमार्गभन्दा ४ सय मिटर तल झ्याङमा अडिएको अवस्थामा सोमबार उनको शव फेला परेको हो ।
गत असार १८ मा स्याङ्जा बाडखोलाबाट ना ४० प ३७२० नम्बरको बुलेट बाइक चढेर पोखरा आएका गिरी लामो समयसम्म परिवारको सम्पर्कमा नआउँदा घटना रहस्यमय बन्दै गएको थियो । आइतबार भालुपहाड तल सेतीखोला खोंचमा माछा मार्ने मानिसहरुले दुर्घटनाग्रस्त एक मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी खोजी तीव्र पारेकोमा सोमबार दिउँसोमात्र पहाडको झ्याङमा कपडासहित उनको कंकाल भेटाएको हो ।
बाग्लुङ बसपार्कस्थित सुनील अटो पार्टस्मा काम गर्ने गिरी लकडाउन सुरु नहुँदै चैत ८ मा स्याङ्जा घर गएको बताइएको छ । उनले भाडामा सो मोटरसाइकल लिएको खुलेको छ ।
उनको दुर्घटनामा परी मृत्यु भएको हो वा हत्या हो सोबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।