
पोखरा । पूर्व मन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेले झण्डै ४ करोड रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गर्ने घोषणा गरेका छन् ।
सोको लागि ३ करोड रुपैयाँ अक्षयकोषमा राखिने र ७९ लाख ५० हजार बराबरको छात्रवृत्ति उनको जन्मभूमि पाल्पा र कर्मभूमि कास्कीमा वितरण हुने जनाइएको छ ।
समाजसेवी पाण्डे अध्यक्ष रहेको मातृसेवा प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन् ।
सोमध्ये ३ करोड रुपैयाँ विभिन्न १२ नाममा २५÷२५ लाख छुट्टाइएको छ । सो अक्षयकोषबाट हरेक वर्ष करिब ४० जनाले छात्रवृत्ति प्राप्त गर्ने छन् ।
यसअघि पाल्पामा ४० लाख ५० हजार बराबरको ‘रम्भादेवी’ छात्रवृत्ति वितरण भैसकेको छ । सो छात्रवृत्ति पाल्पाका ८१ वटा वडा समेट्ने गरी वितरण गरिएको हो ।
उनको कर्मभूमि कास्कीमा ‘कर्मभूमि’ नामको छात्रवृत्ति वितरण गरिनेछ । जिल्लाका सबै वडाबाट एक–एक जना समेट्ने गरी जनही ५० हजार दरले ३९ लाख रुपैयाँ छुट्टाइएको पाण्डेले जानकारी दिए ।
जीवनलाई फरक ढंगले परिभाषा गर्ने उद्योगी पाण्डेले विगतदेखि नै विभिन्न नाममा छात्रवृत्ति वितरण गर्दै आएका छन् । सो छात्रवृत्तिबाट हालसम्म ४ सय २६ लाभान्वित भैसकेको मातृसेवा प्रतिष्ठान नेपालका उपाध्यक्ष तुलसा पाण्डेले जनाइन् ।
पाल्पाली समाज पोखराको व्यवस्थापनमा भएको सो समारोहमा उनले लेखेको पुस्तक ‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’ पुस्तक विमोचन गरियो ।
६ सय २४ पृष्ठ लामो सो पुस्तकको उनकी माता शिवकुमारी पाण्डेले सार्वजनिक गरिन् । ६ अध्याय रहेको सो पुस्तकमा उनले नेपालले आफ्नै सम्भावना प्रयोग गरी कसरी समृद्धि प्राप्त गर्न सक्छ र मानव भइसकेपछि आफ्नो कत्र्तव्य पूरा गर्न के गर्नुपर्छ भन्नेबारे मिहिन ढंगले व्याख्या गरेका छन् ।
गरिबी, असमानता तथा अपमानबाट मुक्तिको लागि समाधान बताउने पाण्डेले सकेसम्म स्वदेशी बस्तुको प्रयोग गर्ने, सकेसम्म बढी प्रतिफलयुक्त कार्यमा संलग्न हुने र सकेसम्म कम खर्चमा जीवनयापन गर्ने कुरा प्रयोगमा ल्याउँदै आएका छन् ।
पूर्व उद्योग तथा जलस्रोत राज्यमन्त्री पाण्डे पोखरामा वरिष्ठ उद्योगपतिको रुपमा चिनिन्छन् । २०३५ सालमा पोखरा झरेका उनले हालसम्म १९ वटा व्यवसाय कम्पनीमा संलग्न हुँदै अनुभव प्राप्त गरेका छन् ।