संक्रमित बढेपछि सप्तरीमा एक साताका लागि निषेधाज्ञा

-



     सफल आवाज    
     श्रावण २० गते २०७७ मा प्रकाशित


सप्तरीमा स्थानीयकै पहलमा भएको निषेधित क्षेत्र संकेतको एक दृश्य ।


कोरोना संक्रमण बढेपछि सप्तरीमा आजदेखि लागू हुने गरी निषेधाज्ञा सुरु गरिएको छ । साउन २० देखि २६ गतेसम्म अत्यावश्यकबाहेक आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

उनका अनुसार जिल्लाभरिमा हालसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा साउन २६ गते साँझ ५ बजेसम्म जारी रहनेछ ।

यसरी निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने छन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।

यस्तै, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा रोक लगाइएको छ ।

संक्रमितमध्ये राजबिराजमा १ जनाको मृत्यु भएको छ ।