स्याङ्जाका एसपी कँडेलको दोस्रो रिपोर्ट नेगेटिभ

-



     सफल आवाज    
     श्रावण २० गते २०७७ मा प्रकाशित


पोखरा, २० साउन । स्याङ्जा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमलराज कँडेलको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले एसपी कँडेलको स्वाब कलेक्सनमा मंगलबार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । गत साता कोरोना पुष्टि भएपछि कँडेल पुतलीबजारस्थित आफ्नै क्वार्टरमा बस्दै आएका छन् ।

गत साउन १२ मा उनीसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको थियो । साथै पछि थप भई स्याङ्जामा प्रहरी कर्मचारीमात्रै ४० जना संक्रमित भएका थिए ।

अन्य ३९ जना प्रहरी कर्मचारीहरु भीरकोट १, हेलुस्थित कालिका सामुदायिक अस्पतालमा र करेन्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा उपचार गराइरहेका छन् । जिल्लामा हालसम्म २ सय ८१ जना कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ । तीमध्ये १ सय ९७ जना निको भइ घर फर्केको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । संक्रमितमध्ये कालिका सामुदायिकमा ४७ जना र करेन्डाँडाको स्वास्थ्य चौकीमा ८ जना बसिरहेका छन् ।

पुतलीबजारमा साउन १३ देखि नै अत्यावश्यक सेवाबाहेक अन्य सेवा संचालन तथा आवत्जावत्मा कडाइ गरिएको थियो । पछि क्रमशः अन्य क्षेत्रसहित जिल्लाभर मानिसको आवत्जावत्मा कडाइ पारिएको हो । मंगलबार पुतलीबजारमै थप ८ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु प्रहरी कर्मचारी भने हैनन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा थप ८ सहित गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ४३ पुगेको छ ।