प्रदेश नं २ मा एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित



महोत्तरी, २१ साउन । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् ।

साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको हो । साउन ७ गतेयता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) जारी गर्दैछन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ ।

पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।