लेबनानको राजधानीमा बिष्फोट सयौंको हताहती कैयौँ भवन खरानी

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित


एजेन्सी : लेबनानको राजधानी मैरुतमा गए राति भएको भयङ्कर विष्फोटनमा परी एक सय बढीले ज्यान गुमाएका र चार हजारभन्दा धेरै मानिसहरू घाइते भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्। मैरुत पोर्टनजिक एक भवनबाट शुरु भएको बिष्फोट र आगजनीको लगत्तै पछि अर्को भयङ्कर बिष्फोट भएको थियो। पछिल्लो बिष्फोटबाट कैंयौं भवन ध्वस्त भएका थिए भने भवनका झ्यालहरु १० किलोमिटर टाढासम्म उछिट्टिएका स्थानीय प्रत्यक्षदर्शीको हवाला दिँदै समाचार एजेन्सीले उल्लेख गरेका छन्।

बिष्फोटपछि मिर्मिरे साँझमा शुरु भएको आगलागी नियन्त्रणमा लिन हवाई तथा सडकका अग्नीनियन्त्रकहरूलाई गाह्रो परेको थियो। रातभरि ठूलो क्षेत्रमा आगो दन्किरहेको र आकाशमा धुवाँको मुस्लो मडारिरहेको थियो। बिष्फोटले साइप्रस सम्म थर्काएको बताइएको छ।

बिष्फोटको स्पष्ट कारण अझै अनुसन्धान भइरहेको भए पनि सो स्थानमा ठूलो संख्यामा असावधानी पूर्वक विष्फोटक पदार्थहरूको भण्डारण गरिएको र त्यहाँ कुनै कारणवश आगो सल्किएर स्थिति नियन्त्रण बाहिर पुगेको स्थानीय प्रशासन र सरकारको अनुमान रहेको बताइएको छ। लेबनानका प्रधानमन्त्रीले कृषिजन्य प्रयोजनमा रासायनिक मलका लागि भनेर लामो समयदेखि भण्डारण गरिएको बिष्फोटक रसायन पड्किएको हुनसक्ने बताएका छन्।

बिष्फोटबाट ठूलो मानवीय र भौतिक क्षति भएको र त्यसको आँकलन नै कहालीलाग्दो भएको स्थानीय मेयरले बताएका जनाइएको छ। अरबौं डलरबराबरको क्षति भएको बताइएको छ भने जीवनमै पहिलोपटक महाभूकम्प नै पैदा गराउने त्यत्रो बिष्फोट सुनेका, देखेका टाढा टाढा सम्मका बासिन्दा अझै त्रसित छन् । यसैबीच बेलायत सरकारले लेबनान बिष्फोटको क्षतिमा आफ्नो तर्फबाट के कति सहयोग गर्न पर्ने हो त्यसका लागि तयार रहेको जनाइएको छ।

लेबनान बिष्फोटले रसायनिक एवं बिष्फोटक पदार्थ सहर वा मानवबस्ती भन्दा टाढा सावधानी र सुरक्षित तरिकाले भण्डारण गर्नुपर्ने शिक्षा भने दुनियाँलाई दिएको छ।