जो सरकारी जागिर छाडेर बैंकिङ क्षेत्रमा चम्किए

-



     रेविका आचार्य    
     श्रावण २२ गते २०७७ मा प्रकाशित



किशोरावस्था लागेसँगै सबैलाई भविष्यको चिन्ता हुन्छ । व्यवसायिक घरानाहरुका छोराछोरीहरुमा सानैदेखि मस्तिष्कमा ‘व्यवसाय’ पसेको हुन्छ । उमेर पुगेसँगै व्यवसायिक घरानाका सन्तानहरु पुर्खौली व्यवसायको जिम्मेवारी लिन्छन् । अन्य अधिकांश सामान्य नागरिकलाई कहाँ जागिर खाने, कुन क्षेत्रमा खाने भन्ने चिन्ताले पिरोल्छ । यो हाम्रो समाजको मध्यम परिवारको वास्तविकता हो।

सरकारी जागिर धेरैको रोजाइमा पर्दछ । सामाजिक सुरक्षा तथा अवकाशपछि उपलब्ध सेवासुविधाका कारण सरकारी जागिरमा अझै पनि आकर्षण छ । यसकारण नै हो, लोक सेवाले १ हजार कर्मचारी मागेको ठाउँमा १० गुणा बढीसम्म आवेदन पर्छ । तर सरकारी स्थायी जागिर छाडेर निजी क्षेत्रमा जमेका व्यक्तिहरु भने समाजमा कमै भेटिन्छन । ती कममध्येमा पर्छन्, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल

सिन्धुलीको एउटा गाउँमा सामान्य परिवारमा जन्मिएका उनी पहिले सरकारी जागिरे थिए । हुन त उनको चाहना शिक्षण पेसा थियो । त्यही चाहना पूरा गर्न सुरुवाति समयमा पढाए पनि । तर पछि सरकारी जागिरे भए । सरकारी जागिर धेरै खाएनन् । सरकारीमै रहेको भए सायद अहिले उनी यो स्थानमा पुग्न सक्ने पनि थिएनन् । बैंकतिर लागे र यो सफलता हात पारे । सफल वार्ताको श्रृङ्खलामा उनै दाहाललाई यहाँ प्रस्तुत गरेका छौं ।

२०२८ सालमा सिन्धुलीको भीमानमा मध्यमवर्गीय परिवारमा उनको जन्म भयो । बालापनका केही वर्ष सिन्धुलीमै बिताए । कक्षा १ सम्म सिन्धुलीमै पढे । बाँकी शिक्षा रौतहटको चन्द्रनिगाहापुरमा भयो । किनकि उनको परिवार तराईतिर बसाइँ सर्यो । २०३५ सालमा चन्द्रनिगाहपुर बसाइँ सरेपछि उनी त्यहाँ कक्षा २ मा भर्ना भए । एसएसलीसम्म अध्ययन चन्द्रनिगाहापुमै भयो । उच्च शिक्षाको लागि नजिकै कलेज नभएकोले उनले काठमाडौं जाने विचार गरे ।

काठमाडौंमै उनले प्रवीणता प्रमाणपत्र तह (प्लस टू) हुँदै स्नातकसम्मको अध्ययन पूरा गरे । मनपर्ने पेसा अध्यापन भएकोले उनले शिक्षक बन्ने सपना पनि देखेका थिए । त्यो पनि अङ्ग्रेजी विषयको । गाउँमा मानसम्मान बढी हुने भएकाले अङ्ग्रेजी शिक्षक हुन चाहन्थे । यसैले उनले स्नातक तहसम्म अङ्ग्रेजी र अर्थशास्त्र विषय लिएर पढेका थिए । अध्ययनलाइ अगाडि बढाउँदै काठमाडौं जोरपाटीको कुमारी इङ्लिस स्कुलमा दाहालले पढाउन थाले । पछि फाइनान्स विषयमा स्नातकोत्तर तह पूरा पनि भयो ।

उनी १ वर्ष शिक्षण पेसामै रमाए । ‘मासिक ६ सय रुपैयाँ कमाउँथे’ आफ्नो पारिश्रमिक खुलेरै भन्छन् दाहाल । पारिश्रमिकभन्दा पनि उनी पेसामा सन्तुष्ट थिए । मन परेको पेसा भएपनि लामो समय भने उनी टिक्न सकेनन् । ‘पेसामा म सन्तुष्ट थिएँ तर पनि लामो समय रहन सकिनँ’ दाहाल भन्छन् । समयक्रमसँगै दाहालमा सरकारी जागिरको चेत पसिकेको थियो ।

शिक्षण पेसामा लागिरहेकै बेला उनले लोक सेवा आयोगका विज्ञापन हेर्न थाले । गोरखापत्रमा लोक सेवा आयोगको विज्ञापन देखेपछि खरिदार पदमा आवेदन दिए । राष्ट्रिय वाणिज्य बैंक र लोक सेवामा एकैचोटी आवेदन दिएका उनको बैंकमा वैकल्पिकमा नाम निस्कियो । नभन्दै लोक सेवामा भने उत्तीर्ण हुन सफल भए ।

सरकारी सेवामा उनको जुन दिन पोस्टिङ भयो, त्यो पनि अविष्मरणीय छ । उनी भन्छन्, ‘२०४६ साल चैत्र २६ गते हाजिर हुनू भन्ने पत्र पाएको थिएँ, जुन दिन बहुदल आयो ।’ त्यसबेला उनलाई पहिलो दिन हाजिर हुन जान नै समस्या भयो । काठमाडौंमा कफ्र्यू लागेको थियो । कर्मचारीहरुका लागि १ घण्टा खुलाइएको कफ्र्यूबीचमा संसद् सचिवालय पुगेर नियुक्तिपत्र लिए । अनि, शुरु गरे उनले निजामती सेवायात्रा ।तत्कालीन संसद् कार्यालयमा पोष्टिङ भयो । तलब मासिक १ हजार २ सय ४० रुपैयाँमात्र थियो । केही वर्ष सरकारी सेवा गरे । यहाँ पनि उनी लामो समय टिकेनन् । निजी क्षेत्रमा जागिर खानकै लागि सरकारी जागिर छाडे ।

सरकारीमा अझै आकर्षण छ । त्यसबेला त नहुने कुरै भएन । तैपनि घरपरिवार कसैको सल्लाह नलिई उनले जागिर छाडेका थिए । सल्लाह गरेको भए सायद अहिले उनी यो स्थानमा आइपुग्ने थिएनन् । त्यसपछि दाहालले नबिल बैंकको सहायक पदमा आवेदन दिए । २०४८ सालमा नबिल बैंक विराटनगर शाखाको लागि नाम निस्क्यो । नबिलले त्यतिबेलै ३ हजार ३ सय ५० रुपैयाँ तलब दिन्थ्यो । त्यसमा राजधानी बाहिर जानेलाई थप ८ सय रुपैयाँ पनि । विराटनगर जाँदा उनले अब मासिक ४ हजार १ सय ५० रुपैयाँ तलबमात्रै पाउने भए । खाइरहेको सरकारी जागिरभन्दा ३ गुणा बढी तलब हुने भएपछि उनी त्यतातर्फ लागे ।

डिसेम्बर २६ । त्यहीँबाट शुरु भयो उनको बैंकिङ करियर । उनी कहिल्यै भुल्दैनन् सो दिन । जुन दिनबाट उनको बैंकिङ करिसरमा सफलताको यात्रा सुरु भएको थियो ।
दाहालले करिब २२ वर्ष नबिलमा सेवा गरे । सेवासुविधा चित्तबुझ्दो थियो । काम गर्ने वातावरण सबै ठीक थियो । तर पनि उनमा बैंकको नेतृत्व लिने चाहना जाग्यो । र, सानिमामा आए । विकास बैंक (ख वर्ग) बाट शुरु भएको सानिमा नेपालका २८ बाणिज्य बैंकमा कान्छो हो।

गैरआवासीय नेपालीहरुले प्रबर्धन गरेको सानिमा करिब ७ वर्षअघि विकास बैंकबाट स्तरोन्नति भएको हो । दाहाल सानिमामा साढे ६ वर्षअघि मात्रै आएका हुन्, त्यो पनि सञ्चालक समितिले सीईओ बनाउने शर्तमा । बैंकको दोस्रो वरियता (सेकेण्ड म्यान) मा प्रवेश गरेका थिए उनी सीईओ हुन केही वर्ष पर्खन तयार थिए । तर धेरै कुर्नु परेन । उनी सानिमा गएको ६ महिना बित्न नपाउँदै बैंकका तत्कालीन सीईओ कुमार लम्सालले पदबाट राजीनामा दिए । दाहाललाई नेतृत्व लिने अवसर जुर्‍यो ।

दाहाल अहिले सानिमा बैंकका सीइओ हुन् । अझ यहाँ रोचक कुरा त सानिमा नेपालको सबैभन्दा कान्छो वाणिज्य बैंक हो । गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेको यो बैंक कान्छो भएर पनि अन्य वाणिज्य बैंकभन्दा कम छैन । धेरै बैंकहरु सानिमाभन्दा पछाडि नै छन् । बैंकिङ क्षेत्रका जानकार यसको श्रेय दाहाललाई नै दिन्छन् ।

बैंकमा एकजना कार्यकारी प्रमुखले निर्वाह गर्नुपर्ने भूमिका कुशलतापूर्वक निर्वाह गरेका कारण सानिमा बैंक राम्रै स्थानमा बस्न सफल भएको छ । सानिमा बैंकको मात्रै नभई सबै वाणिज्य बैंकका सीइओहरुको संगठनकै नेतृत्व गरिरहेका दाहाल निकै ठूलो धनाढ्य परिवारका भने होइनन् । उनले भनसुन भरमा यो प्रगति पनि गरेका होइनन् । कामप्रतिको लगाव र मिहिनेतको फल हो आजको उनकाे सफलता ।

बैंकिङ क्षेत्रमा अहिले उनी सफल बैंकरका रुपमा परिचित छन् । सबैले विश्वास गरेर नै गत वर्ष नेपाल बैंकर्स संघको नेतृत्व गर्ने अवसर उनैलाई दिए । अहिले पनि दाहालका निकटस्थहरुसँग दाहाल कस्ता व्यक्ति हुन् भन्यो भने सबैको एउटै जवाफ आउँछ–‘हि इज अ गुड बैंकर’ ।