पोखरामा एकैदिन १० संक्रमित फेला

-



     सफल आवाज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित


पोखरा, २३ साउन । पोखरामा शुक्रबार १० संक्रमित फेला परेका छन् । बिहान २ जनामा कोरोना संक्रमण देखिएकोमा पुनः ८ जनामा कोरोना देखिएको भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । यसरी पोखरामा एकैदिन १० जनामा कोरोना भाइरस देखिएको हो।

बिहीबार पोखरा ८ मा एकै परिवारमा थप ४ जनामा कोरोना देखिएपछि पोखरा क्षेत्रमा सतर्कता अपनाइएको छ ।

स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार शुक्रबार पोखरा १९ मा ६ जना, वडा १५ र वडा ३१ मा एक एक जनामा संक्रमण देखा परेको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा १९ का वर्ष ५८, ६८ र ८८ का ३ जना महिलामा कोरोना पुष्टि भएको हो । वडा १९ मै वर्ष ५७ का एक जना पुरुष तथा वर्ष ६० का २ जना पुरुषमा कोरोना देखिएको छ ।

वडा १५ मा वर्ष ३२ की महिला र वडा ३२ मा वर्ष १९ का पुरुषमा कोभिड–१९ देखिएको जनाइएको छ।

पोखरामा शुक्रबार बिहान वडा २ र ८ मा गरी २ जनामा कोरोना संक्रमण देखा परेको थियो ।
गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । तीमध्ये १ हजार ३ सय ८३ जना निको भएका छन् । ४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।