अपडेट: एयर इन्डिया एक्सप्रेस विमान दुर्घटनामा १७ को मृत्यु, १६० घाइते

- चालक दलका अरु ४ सदस्य भने जीवित

-



     सफल आवाज    
     श्रावण २४ गते २०७७ मा प्रकाशित


काठमाडौं, २४ साउन । एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीमध्ये २ जना पाइलट छन् । चालक दलका अरु ४ सदस्य भने जीवित रहन सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुबईबाट केरला आएको सो विमान शुक्रबार बेलुका भारत केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना हुँदा १ सय ६० यात्रु घाइते भएका छन् । घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर छ । विमानमा चालक दलका सदस्यसहित १ सय ९० जना सवार थिए । यात्रुमध्ये १० बालबालिका पनि रहेको बीबीसी हिन्दीले लेखेको छ ।

दुर्घनाग्रस्त विमान ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा अवतरणक्रममा विमान दुर्घटना भएको हो । रन–वेबाट बाहिर गएको विमान २ टुक्रा भएर पनि आगो नलाग्दा थप क्षति टरेको थियो । भिजिविलिटी कम रहेको तथा वर्षा भएको कारण सो दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको छानबिनका लागि २ छुट्टाछुट्टै समिति बनाइएको छ ।

विमानमा रोजगारी तथा घुम्नका लागि दुबई गएर कोरोना भाइरसको महामारीका कारण उतै रोकिएका यात्रु थिए । यात्रुमध्ये २६ जनाको रोजगारी गुमेको, २८ जनाको भिसा अवधि सकिएका र ५४ जना घुम्न गएर महामारीका कारण उतै फसेकाहरु थिए ।

यस्तै, स्वास्थ्य अवस्थाका कारण फर्किएका ६ तथा विवाहका लागि फर्किएका ३ जना थिए ।

यसैबीच, सो घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।