
पोखरा, २५ साउन । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । करिब ५ सय वटा नमुना परीक्षणमा पर्वत कुष्मा नगरपालिका वडा ४ का २३ वर्षीय पुरुषमा कोरोना देखिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा क्षयरोग उपचार केन्द्रमा ४ सय ६८ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ नमुना परीक्षण भएको हो । तीमध्ये क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा ती पुरुषमा कोरोना देखिएको हो । अन्यको रिपोर्ट नेगेटिभ छ ।
गण्डकीमा कुल संक्रमितको संख्या १ हजार ६ सय १२ पुगेको छ । तीमध्ये १ हजार ४ सय ५९ निको भएका छन् । गएको २४ घण्टामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बा १, लमजुङबाट ६, बागलुङबाट २, तनहुँबाट ४ र पर्वतबाट ३ जना डिस्चार्ज भएको स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रवक्ता डा. विनोदबिन्दु शर्माले बताए ।
गण्डकीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । शनिबार रातिमात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।