घर भत्किँदा ४ को मृत्यु, ५ घाइते

-



     सफल आवाज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित


डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी ७ वर्षीया सिरु, अर्की छोरी ४ वर्षीया जेनिसा रहेका छन् ।

त्यसैगरी घाइते हुनेमा ३३ वर्षीय घर मालिक लोगे लुहार, निजकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र विक तथा छोरी २ वर्षीया अस्मिता लुहार रहेका छन् ।

घाइतेलाई उपचारका लागि डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ ।

सिलेटले छाएको तीनतले घरमा राति सुतिरहेको बेला अचानक घर भत्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मौवानगरदहका प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर बुढाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

घटनास्थल जिल्ला सदरमुकाम सिलगढीबाट दुई÷तीन घण्टाको दूरीमा रहेको छ । रासस