एसएसपी अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

-



     सफल आवाज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित



पोखरा, २७  साउन
 युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश दिपक कुमार खरेलकाे इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दा अनुसन्धान प्रकिया अघि बढाउने आदेश दिएकाे हाे ।

अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायका अनुसार २ दिनसम्म वादि प्रतिवादिकाे बहस सुनिसकेपछि निजलाई पुर्पक्षका लागि थुनामा राख्ने मंगलबार आदेश भएकाे हाे ।
सरकारी वकिलकाे तर्फबाट जिल्ला न्यायाधीवक्ता गुरूप्रसाद वाग्ले लगायत ३जना र प्रतिबादी तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा सहित ६ वकिलले बहस गरेका थिए ।

यता, अधिकतम् २१ वर्षसम्म सजाय माग गर्दै आइतबार अभियोगपत्र दायर गरिएको थियाे ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले  उनीविरुद्ध २१ वर्ष सजाय माग गर्दै जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरेको हो । सरकारी कर्मचारीसहित उच्च पद धारण गरेको व्यक्तिलाई डेढी सजाय हुने व्यवस्था छ ।

पोखरा लामापाटनस्थित सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत एसएसपी अधिकारीविरुद्ध गत असार ३१ मा चितवनबाट २७ वर्षीया युवतीलाई खाना खान बोलाएर क्वार्टरमै जबर्जस्ती बलात्कार गरेको संगीन अभियोग छ ।
एकाएक सो घटना बाहिरिएपछि एसएसपी अधिकारीलाई अनुसन्धानका लागि भन्दै कास्की प्रहरीले सोही दिन पक्राउ गरेको थियो । त्यसपछि ३ पटकसम्म जिल्ला अदालतबाट म्याद थप स्वीकृति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्दैआएको थियो । जसमा पहिलो पटक ७, दोस्रो पटक ७ र तेस्रो पटक १४ दिन म्याद थप भएको थियाे ।

आफूलाई खाना खान बोलाएर अधिकारीले बलात्कार गरेको मौखिक उजुरी सोही दिन ती युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुम १०० मा टेलिफोनमार्फत दिएकी थिइन् । त्यसपछि प्रहरीले पीडित युवतीलाई भेटेर घटनाबारे थप जानकारीसँगै घटनास्थलको अवलोकन गरी एसएसपी अधिकारीलाई पक्राउपछि हिरासत लिएकाे हाे ।

घटना विवरण अनुसार चितवनबाट सोही दिन बिहान स्कुटर चढेर आएकी ती युवती खाना खाने निम्तो मान्न लामापाटनस्थित एसएसपी अधिकारी बस्ने क्वार्टरमै गएकी थिइन् ।
अधिकारीकाे पाेखराबाट सरुवाको अघिल्लो दिनमात्र सो घटना भएको थियो । स्याङ्जाका अधिकारी १ वर्षदेखि लामापाटनमा प्रमुखमा कार्यरत थिए ।