पोखरामा एकै परिवारका ९ जनामा कोरोना !

-



     सफल आवाज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित


पोखरा, २७ साउन । पोखरामा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको छ । पोखरा वडा ९ बसोबास गर्ने एकै परिवारका ९ सदस्यमा कोरोना पुष्टि भएपछि सतर्कता अपनाइएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार २ दिनअघि परिवारका २ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुको कन्ट्याक्टमा आएकाको मंगलबार भएको पीसीआर परीक्षणमा थप ७ जनामा कोभिड–१९ पुष्टि भएको हो । जसमा ६ महिला (१ बच्चासमेत) र १ जना पुरुष छन् । यसअघि २ जना (महिला/पुरुष) संक्रमित थिए।

यता, गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ विज्ञप्ति जारी गरी वडा ९ का ४ महिलाहरु वर्ष ११, ३५, २७, ३७ तथा पुरुषहरु वर्ष ३० र ३१ मा कोरोना पुष्टि भएको जनाएको छ । त्यसमा वडा १९ का ४ जना महिला तथा वडा नखुलेकी १ महिला पनि छन् । तैपनि मंगलबारमात्रै ७ जनामा कोरोना देखिइसकेको महानगरका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यलाई उद्घृत गर्दै वडाध्यक्ष लामिछानेले दाबी गरे ।

वडाले अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कन वडावासीमा आग्रह गरिसकेको छ । वडा ९ पोखराको मुख्यबजार क्षेत्र पर्छ ।

पोखरामा हालसम्म १ सय ६४ जना संक्रमित भेटिएका छन् । मंगलबारमात्र पोखरामा १५ जना संक्रमित थपिएका हुन् । तीमध्ये एक जना बैंकर र अर्का सहकारी कर्मचारी समेत छन् ।

पोखरामा कुल संक्रमितमध्ये १ सय ७ जना निको भइ डिस्चार्ज भैसकेका छन् । ३ दिनअघि पोखरा १९ निवासी ६२ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको थियो ।

यसैबीच, गण्डकी प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ सय ४८ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २५ जना मंगलबारमात्र थपिएका हुन् । कास्कीमा ११, बागलुङ र तनहुँमा २–२ जना तथा स्याङ्जामा ४ महिला र २ पुरुष गरी ६ जना संक्रमित भेटिएका हुन् ।

गण्डकीमा हालसम्म २९ हजार ८ सय ३४ नमुना संकलनमा कुल संक्रमितमध्ये १ हजार ४ सय ९३ निको भएका छन् । मृत्यु हुनेको संख्या ५ पुगेको छ । तीमध्ये स्याङ्जाका २, गोरखा, बागलुङ र कास्कीका १–१ जना पुरुष छन् ।

स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार साँझ जारी विज्ञप्ति: