कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो बन्यो रुस

-



     सफल आवाज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित



मस्को, २७ साउन । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृति दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।

“मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ संक्रमणविरुद्धको पहिलो खोप बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भने ।

“मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” उनले थपे । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिएका छन् । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उनले बताए ।

यद्यपि खोपबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक धारणा आइसकेको छैन ।

आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुसी व्यक्त गरे ।

“मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस (१ सय डिग्री फरेनहाइट) पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो ।”

जोन्स हकिन्स विश्वविद्यालयको पछिल्लो अपडेट अनुसार हालसम्म कोभिड–१९ बाट विश्वमा २ करोड ९२ हजार ८ सय ५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने हालसम्म ७ लाख ३६ हजार २ सय ५४ संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई महामारीका रूपमा विश्वभर फैलिएको घोषणा गरेको थियो ।(रासस/एएनआई)