
कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको निधन भएको छ ।
दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको शव मंगलबार बिहान मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । काठमाडौंबाट फोटो पठाएपछि मात्र उनको शव भएको पहिचान भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । शव मकवानपुरको हेटौंडा अस्पतालमा राखिएको छ ।
उनी पछिल्लो समय काठमाडौंको बल्खुचोकमा सोमबार करिब पौने ४ बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।
एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले उद्धारमा कठिनाइ भएको स्थानीयले बताए ।
एक दशक बढी समयदेखि कान्तिपुरमा कार्यरत बानियाँ केही समय नागरिक पत्रिकामा पनि काम गरेका थिए ।
तनहुँ घर भएका बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।