
धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ ४ जना बिरामी र १ जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना आइसोलेसनमा बस्नुपरेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रशासकीय निर्देशक डा रमेश माकजुले विज्ञप्ति जारी गर्दै देशभित्र केही दिनयता कोभिड–१९ को पोजेटिभ संख्यामा वृद्धि भएसँगै अस्पतालमा उपचाररत बिरामीमध्ये एक जना अस्पतालकै स्वास्थ्यकर्मीसहित सोमबारदेखि बिहीबारसम्ममा ५ जनामा पोजेटिभ देखिएपछि अस्पतालको ओपिडी, आकस्मिक कक्ष र वार्डमा सहित सङ्क्रमण फैलिएको आशङ्का भएकाले केही समय अस्पतालको सेवा बन्द गरी कीटाणुरहित गर्न आवश्यक देखिएकाले सङ्क्रमणमुक्त नभइञ्जेलसम्म अस्पतालको आकास्मिक सेवा मात्र सञ्चालन गरिने जनाएको हो ।
हाल आइसोलेसनमा रहेका व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षण भइरहेकाले सोको जानकारीसहित अस्पताल सेवा सञ्चालनसम्बन्धी जानकारी आगामी आइतबार दिइने अस्पतालले जनाएको छ । अहिले अस्पतालभित्र कोभिड–१९ लेभल ३ प्रि–कोभिड वार्डमा ६ जना र कोभिड पोजेटिभ वार्डमा २१ जना गरी २७ जना उपचाररत छन् ।
यसैबीच मण्डनदेउपुर नगरपालिकामा पनि कोरोना सङ्क्रमण देखिएकाले बिहीबारबाट अर्को सूचना नभएसम्मका लागि जिरोकिलो–सिपाघाटलगायत अन्य स्थानबाट नगरपालिका क्षेत्र प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरिएको नगरपालिकाले जनाएको छ । बिहीबार नगरपालिकाका अधिकृत मनोज अधिकारीले सूचना जारी गरी नगरपालिका क्षेत्रभित्र अत्यावश्यकबाहेकका सम्पूर्ण किसिमका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन र व्यक्तिको आवतजावतमा समेत रोक लगाइएको बताए ।
त्यस्तै अत्यावश्यक सामग्रीबाहेकका अन्य सम्पूर्ण किसिमका होटल, पसललगायतका व्यवसाय बन्द गर्न र अनावश्यक मानिसको भिडभाड नगर्न नगराउनसमेत नगरपालिकाले आग्रह गरेको छ।
धुलिखेलबाट अत्यावश्यक सेवाबाहेक अन्य बन्द
धुलिखेल नगरपालिकाले शुक्रबारदेखि लागू हुने गरी आगामी भदौ ५ गतेसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने सेवामा अत्यावश्यकबाहेका अन्य सेवा बन्द गरेको जनाएको छ ।
कोरोना सङ्क्रमितको संख्या वृद्धि भई त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले बताए ।
सो अवधिमा नगरपालिका क्षेत्रभित्र कुनै पनि बैठक, गोष्ठी भेला, धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेकका अन्य गतिविधिका कार्यमा समेत रोक लगाइएको नगरपालिकाले जनाएको छ । रासस