सरुवा भएर आएका ६ जना प्रहरीमा कोरोना

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित



विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका ६ जना प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

सङ्क्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय दुई÷दुई तथा २० र २१ वर्षीय एक÷एक जना पुरुष रहेका छन् । सङ्क्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखिने जनाइएको छ ।

यसैबीच जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लास्थित सबै हाटबजार बन्द गराएको छ । बन्दाबन्दी हटेसँगै शुरु भएको भीडभाड बढ्दा कोरोनाको भाइरस सङ्क्रमणको जोखिमसमेत बढेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णयानुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराएको हो ।