कोरोनाबाट ज्यान गुमाउने १०२ पुगे, रोकिएन संक्रमित दर

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित



नेपालमा कोरोना देखा परेको साढे ६ महिना अवधिमा २६ हजार १९ जना कोरोना संक्रमित हुन पुगेका छन् । तीमध्ये १ सय २ जनाले ज्यान गुमाए । नेपालमा गत वर्ष माघ ९ मा पहिलो पटक कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । कोरोना जोखिम न्यूनीकरणका लागि चैत ११ देखि लकडाउन सुरु गरी १२० दिने लकडाउन साउन ७ मा आएर अन्त्य गरेको सरकारको पछिल्लो समय फितलो व्यवस्थापनका कारण संक्रमितको संख्या बढ्दै गएको हो ।

पछिल्लो सातायता कोरोना भाइरसबाट मान्छे नमरेको कुनै दिन हुन छोडेको छ । शनिबार पनि ३ जनाको दुःखद निधन हुन पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा जनाइयो ।

चीनको बुहानमा सन् २०१९ को डिसेम्बरमा पहिलो पटक कोरोना देखा परेको हो

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । उनका अनुसार कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका संक्रमितको निधन भएको हो । यो सँगै मृतकको संख्या १ सय २ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला छन् ।

यसैगरी नेपालमा शनिबार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार ४ सय ४७ नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना देखिएको हो ।

हालसम्म १७ हजार २ सय १ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

चीनको बुहानमा सन् २०१९ को डिसेम्बरमा पहिलो पटक कोरोना देखा परेको हो । सो क्रमशः विश्वभर फैलिदै जाँदा हाल २ करोड १३ लाख ५७ हजार ८ सय ९० कोभिड–१९ बाट संक्रमित छन् ।

संक्रमणबाट हालसम्म ७ लाख ६३ हजार ३ सय ८७ जनाको मृत्यु भइसकेको छ । साथै १ करोड ४१ लाख ५१ हजार ७ सय ६६ जना उपचारपछि निको भएर फर्किएका छन् ।