पोखरामा ८७ वर्षीय कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित



पोखरा, २ भदौ । पोखरामा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा वडा १६ का ८७ वर्षीय पुरुष हुन् ।

कोभिड–१९ पुष्टि भएका मधुमेह, मिर्गाैलाका समेत रोगी ती वृद्ध गत शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाको इमर्जेन्सी विभागमा भर्ना भएकोमा उनको उपचारक्रममा मंगलबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जनाएका हुन् । ती वृद्धलाई सोमबारदेखि कोभिड–१९ उपचार केन्द्रको आइसीयूमा सारेर उपचार हुँदैआएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाका कारण मृत्यु हुने उनी चौथो व्यक्ति हुन् ।

पोखरामा गएराति सेवा अस्पतालमा उपचारक्रममा मृत्यु भएकी तनहुँको व्यास १ की ५० वर्षीया महिलाको पनि मंगलबार कोरोना पुष्टि भएको थियो । मृतक दुवैको शव अन्त्येष्टिको तयारी भैरहेको छ ।


गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगिसकेको छ ।