गण्डकीमा संक्रमित संख्या १८२१ पुगे, निको हुने १५७९

-



     सफल आवाज    
     भाद्र ४ गते २०७७ मा प्रकाशित


पोखरा, ४ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश राजधानी पोखरास्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको नमुना परीक्षणमा थप ३ जनामा कोरोना संक्रमित देखिएको हो । यसअघि बिहीबार बिहान ६ जना संक्रमित फेला परेको जानकारी स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको थियो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका वडा २ का वर्ष ६३ का पुरुष र वर्ष ३८ की महिला, वडा १३ की वर्ष ५५ की महिलामा संक्रमण पुष्टि भएको हो ।

बिहान पोखरामा थप ३ जना संक्रमित फेला परेका थिए । तीमध्ये पोखरा वडा ५ का १४ वर्षीय किशोर र १६ वर्षीया किशोरी, वडा ८ की ४२ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।

त्यस्तै तनहूँ जिल्लाको भानु नगरपालिका वडा ६ का ३७ वर्षीय पुरुष र भानुकै वडा नखुलेका २८ वर्षीय पुरुष तथा स्याङ्जाको गल्याङ नगरपालिकाकी ४० वर्षीया महिला छन् ।

प्रदेशमा कुल संक्रमितमध्ये १ हजार ५ सय ७९ जना निको भएर घर फर्केका छन् । ७ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमण फैलिन नदिन कास्कीमा महिलाको महान चाड हरितालिका तीजको बेलामा समेत ५ दिनका लागि निषेधाज्ञा आदेश जारी छ ।