तीजकै दिन पोखरामा महिला संक्रमित पुष्टि

-



     सफल आवाज    
     भाद्र ५ गते २०७७ मा प्रकाशित



पोखरा, ५ भदौ । हरितालिका तीजको दिन पोखरामा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गरी पोखरा महानगरपालिका वडा २७ की ५० वर्षीया महिलामा कोरोना पुष्टि भएको जनाएको हो । उनको नमुना परीक्षण प्रदेश क्षयरोग केन्द्र पोखरामा भएको हो ।

यसैगरी, शुक्रबार नै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका वडा २ का ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

योसहित गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय २३ पुगेको छ ।

यसअघि बिहीबारसम्म संक्रमित संख्या १ हजार ८ सय २१ थियो । संक्रमितमध्ये १ हजार ५ सय ७९ जना निको भएका छन् । कोरोना संक्रमित ७ जनाको ज्यान गएको छ ।

संक्रमित संख्या बढ्दै गएपछि कास्कीमा ३ दिनदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा भदौ ७ सम्म कायम रहने छ । कोरोना भाइरस संक्रमण त्रास र निषेधाज्ञाका कारण महिलाहरु आफ्नो महान पर्व तीजमा पनि घरभित्रै नाचगान गरिरहेको पाइन्छ ।