३ साताअघि मृत्युको रेकर्ड समावेशपछि गण्डकीमा मृत्यु संख्या ८ पुग्यो

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित


पोखरा, ८ भदौ । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । काठमाडौंमा गत असार १७ मा उपचारक्रममा मृत्यु भएका म्याग्दीको धौलागिरि गाउँपालिका वडा ४ निवासी ४७ दिनका नावालकको मृत्युको रेकर्ड गण्डकीमा समावेश गरिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विज्ञप्ति जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राप्त प्रतिवेदन आधारमा गण्डकीको तथ्यांकमा ती नावालकको मृत्युको रेकर्ड समावेश गरिएपछि मृत्यु संख्या ८ पुगेको जनाएको हो । तर रेकर्ड ३ सातापछि आएर समावेश गरिएको छ ।

गण्डकीमा हालसम्म स्याङ्जा र कास्कीका २–२, गोरखा, बागलुङ, तनहुँका १–१ जना संक्रमितको मृत्यु भइसकेको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९१ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखराको परीक्षणमा पोखरा वडा २९ की २० वर्षीया महिलामा कोरोना देखा परेको छ ।

त्यस्तै, नवलपरासी वर्दघाट सुस्ता पूर्वको गैँडाकोट १२ का ४७ वर्षीय पुरुषमा कोरोना देखा परेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट ट्रकमा सामग्री लिएर सुर्खेत जाँदा बबई चेकपोष्टमा भएको नमुना संकलनपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत गरिएको परीक्षणमा उनमा कोभिड–१९ देखा परेको हो ।

यसरी गण्डकीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय १९ पुगेको छ ।
सोमबार बिहानमात्र गण्डकीमा प्रदेशमा २ आर्मी र १ प्रहरीमा पनि कोरोना पुष्टि भएको थियो ।