कोभिड–१९ का कारण शेर्पा संघ युके अध्यक्षको निधन

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित


कोरोना भाइरस संक्रमणको कारण शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको निधन भएको छ ।
नेपालमा भोजपुरको षडानन्द नगरपालिका स्थायी घर भएका शेर्पा ५१ वर्षका थिए ।

उनको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको हो ।

गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो ।

तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएकोमा सोमबार निधन भएको हो।

एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन ।

भूतपूर्व गोर्खा सैनिक शेर्पा श्रीमती सहित ३ छोरासँग बेलायतको केन्टमा बस्दै आएका थिए ।

पूर्व ब्रिटिश गोरखा सैनिक शेर्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गरेका छन् । उनी संघको दोस्रो कार्यकाल अध्यक्ष पदमा कार्यरत थिए ।