
पोखरा, भाद्र १२ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ३६ हजार ४५६ पुगेको छ । शुक्रवार देशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा थप ९२७ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हाल १६ हजार १९ जना कोरोना संक्रमणका सक्रिय केस रहेका छन् । बितेको २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसंगै नेपालमा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ ।
शुक्रवार काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा संक्रमण पुष्टि भएको छ । डा.गौतमका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनासहित उपत्यकामा ४१५ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।
बितेको २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोनाको कारण मृत्यु भएको डा.गौतमले बताउनु भएको छ । नियमित प्रेस ब्रिफिङमा उहाँले मृतकहरुमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । उनिहरुमा मोरङका ५६, ६५ वर्षिया दुई महिला, भक्तपुरकी ६४ वर्षिया महिला र मकवानपुरकी ७१ वर्षिया महिला रहेकी छन् ।
यस्तै, उदयपुरका ५२ वर्षिय पुरुष, पर्साका ७२ वर्षिय पुरुष, धनुषाका ४५ वर्षिय पुरुष, सिराहाका ५५ वर्षिय पुरुष, झापाका ८३ वर्षिय पुरुष र चितवनका ५१ वर्षिय पुरुष रहेका छन् । बितेको २४ घन्टामा कास्कीका ५२ वर्षिय र रुपन्देहीका ६० वर्षिय पुरुषले ज्यान गुमाएका छन् ।