
पोखरा, १४ भदौ । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार चितवन मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको हो । योसँगै गण्डकीमा कोभिड–१९ संक्रमण कारण मृत्यु हुनेको संख्या १३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तिमार्फत् पुष्टि गरेको हो ।
निमोनियापछि भदौ ४ मा अस्पताल भर्ना भएका उनको आईसीयूमा भेन्टिलेटर सहयोगमा उपचार भइरहेको थियो । उनमा कोरोना संक्रमण शनिबारमात्रै पुष्टि भएको हो । नवलपुरमा संक्रमितमध्ये यो पहिलो मृत्यु हो ।
पोखरामा शनिबार थप एक जना पुरुषको मृत्यु भएको थियो । पोखरा–१४ निवासी ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारक्रममा मृत्यु भएको हो । भदौ ७ मा शल्यक्रिया गरिएका ती बिरामीको भदौ १० मा कोरोना पुष्टि भएपछि आईसीयूमा भर्ना गरिएको थियो ।
त्यसअघि पोखरामा लगातार बिहीबार र शुक्रबार पनि एक–एक जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए । प्रतिष्ठानमा उपचारक्रममा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । जसमा पोखराका ५ छन् । यसरी गण्डकीमा ३ दिनभित्र १ महिलासहित ४ जनाले ज्यान गुमाएका छन् । जिल्लागत हेर्दा कास्कीका ५, स्याङ्जा र गोरखाका २–२, म्याग्दी, बागलुङ, नवलपुर र तनहुँका १–१ जनाको मृत्यु भैसकेको छ ।
यसैबीच, गण्डकी प्रदेशमा आइतबार थप ५ जनामा कोरोना संक्रमित थपिएका छन् । योसहित प्रदेशमा संक्रमित संख्या २ हजार ९९ पुगेको छ ।
पोखरामा आइतबार थप ३ जना संक्रमित फेला परेका छन् । पोखरा–७ की ३७ वर्षीया महिला तथा ५३ वर्षीय पुरुष र पोखरा–८ का ३८ वर्षीय पुरुष संक्रमित बनेका हुन् । उनीहरुको नमुना परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको हो ।
त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु–४ की २० वर्षीया एक स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । उनको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको थियो ।
भरतपुर अस्पतालमा नमुना परीक्षणमा कावासोती–२ की २१ वर्षीय महिला पनि संक्रमित बनेकी छिन् । गण्डकीमा हालसम्म निको हुनेको संख्या १ हजार ६ सय ९३ पुगेको छ । निको हुने दर ८०.८५ प्रतिशत छ । सक्रिय केस ३ सय ९४ पुगेको छ ।