भक्तपुरमा होम आइसोलेसनमै सङ्क्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित



भक्तपुर, भदौ १४ । उच्च रक्तचाप र मधुमेह लगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेसनमै गए राति मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेसनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेका थिए ।

वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएकाे थियो ।

नेपाली सेनाको टोलीले शव आज व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए । यसअघि पाटन अस्पतालमा शनिबार बिहान मध्यपुर ठिमी नगरपालिका नगदेशकी ६२ वर्षीया एक सङ्क्रमितको मृत्यु भएको थियो ।

भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।–रासस