नेपालमा ८९९ संक्रमित थपिए,एक बालिकासहित ७ को मृत्यु

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ भदौ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको संख्या दिनानुदिन वृद्धि हुँदै गएको छ । साथै मृत्यु हुनेक्रम पनि रोकिएको छैन ।

गएको २४ घण्टामा नेपालमा कोरोनाका कारण ४ वर्षीया बालिकासहित ७ जनाको दुःखद निधन भएको छ । आइतबारमात्रै नेपालमा १४ जनाले ज्यान गुमाउँदा १ हजार २ सय २१ संक्रमित थपिएका थिए ।

सोमबार ज्यान गुमाएका ७ मध्ये ३ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियमित प्रेस ब्रिफिङमा जनाएको हो ।

जसमा महोत्तरीकी ४ वर्षीया बालिकाको मृत्यु भएको छ । यस्तै, गोरखाकी ६२ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै, झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ सय २८ पुगेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३ महिला र ५ सय ९६ पुरुष छन् । योसहित कुल संक्रमित संख्या ३९ हजार ४ सय ६० जना पुगेको छ।

देशभर हाल १७ हजार ८ सय २२ जना सक्रिय संक्रमित छन् । सोमबार ११ हजार १ सय २९ पीसीआर परीक्षण भएको हो । ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहँदा संक्रमणमुक्त हुने २१ हजार ४ सय १० जना पुगेको छ।

काठमाडौं उपत्यकामा भने २ सय ९८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा १ सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ छन् ।

देशभर आइसोलेसनमा ७ हजार १ सय २१ जना रहँदा १ सय ३२ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यसैबीच, ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला संख्या पनि बढेको छ । १२ जिल्लामा ५ सय बढी संक्रमित छन् । जसमा मोरङ, सुनसरी धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चिवतन र रुपन्देही छन् । हुम्ला र मुस्ताङमा कुनै पनि संक्रमित छैनन् ।

यसैगरी पीसीआर परीक्षण गर्दा अब ४ हजार रुपैयाँमात्र शुल्क लाग्ने भएको छ । मन्त्रालयका प्रवक्ता प्राडा गौतमका अनुसार कोरोना जाँच हुने अस्पतालमा ४ हजार तथा नमुनासंकलन गरी जाँच हुने अस्पतालसम्म पु¥याउनुपर्ने अवस्था आएमा ४ हजार ४ सय रुपैयाँभन्दा बढी तिर्नु पर्ने छैन ।

मुलुकमा कोरोनाको महामारी बढ्दै जाने संकेत देखिएकोले हरेक घरघरमा अब कोरोनाबारे कुरा गर्न र घरका कुनै सदस्यलाई संक्रमण पुष्टि भए के गर्ने भन्नेबारे पूर्व तयारीबारे परिवारका सदस्यसँग आजैदेखि छलफल गर्न मन्त्रालयले आग्रह गरेको छ ।

दैनिक बढिरहेको संक्रमण रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको उनले बताए ।

उनले कोभिड–१९ को सङक्रमणबाट समाजलाई बचाउनु सबैको दायित्व रहेकाले सबैले यस कठिन परिस्थितिलाई बुझेर आआफ्नो तर्फबाट रोकथाम र नियन्त्रणका लागि गर्न सकिने सहयोग गर्न अनुरोध गरे । उनले सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्म राम्रो सेवा प्रदान गर्न खोज्दा खोज्दै पनि कतिपय बेलामा संक्रमितको अपेक्षा पूरा नभएको बताए ।

एक जना संक्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्म संक्रमण फैलाउन सक्ने भएकाले हामी सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उनको भनाइ थियो ।