गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुग्यो

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित



पोखरा, १५ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

गोरखाको आरुघाट निवासी ६५ वर्षीया महिलाको भदौ १३ मा काठमाडौंस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा भदौ ४ देखि नै उपचाररत् उनको निधनकै दिन भदौ १३ मा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीले विज्ञप्तिमार्फत जनाएको छ ।

ती महिला हाइपोथाइरोडिजम तथा मिगौैलाबाट लामो समयदेखि ग्रसित थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो नियमित प्रेस ब्रिफिङमा समेत ती महिलाको कोरोना संक्रमणको कारण ज्यान गएको सार्वजनिक गरेको थियो ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । यसअघि बिहीबार, शुक्रबार, शनिबार पनि पोखरामा लगातार कोरोना संक्रमितको ज्यान गएको थियो ।

गण्डकी प्रदेशमा सोमबार २८ जना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या २ हजार १ सय ६५ पुगेको छ । प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या ४ सय ५९ मात्र रहेको छ ।
गण्डकी प्रदेशमा संक्रमितमध्ये निको हुनेको संख्या १ हजार ६ सय ९३ छ ।