उपचारको लागि धाउँदै गर्दा चितवनमा तीनजना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित



चितवन, १६ भदौ । उपचारको लागि अस्पताल धाउँदै गर्दा चितवनमा तीनजना संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित अस्पताल गएका ती तीनजना सङ्क्रमितको सोमबार मृत्यु भएको भएको हो ।

मेडिकल कलेज र अस्पतालमा सघन उपचार कक्षको अभाव भएपछि पिसीआर परीक्षण गर्नका लागि सरकारी अस्पताल पठाएपछि संक्रमितको त्यहाँ पुगे लगत्तै मृत्यु भएको बताईएको छ ।

मृत्युपछि स्वाब सङ्कलन गरिएकोमा उनीहरुको परिक्षण नतिजा पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताएका छन् ।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारीले मृत्यु भएका तीनै जना संक्रमितमा निमोनिया देखिएको बताएका छन् ।

मृतकमा खैरहनी नगरपालिका–१३ की ५५ वर्षिया महिला र भरतपुर–११ का ६५ वर्षिय पुरुष रहेका छन् । साथै भरतपुर–११ की १८ वर्षिया किशोरी रहेकी छन् ।

बिरामीले उपचार नपाउने गुनासो हुन थालेपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गर्दै अस्पतालमा बेड खाली छ छैन, सघन उपचार कक्ष खाली नभएपछि बिरामीलाई आकस्मिक कक्षमा भर्ना गरेर उपचार शुरु गरी अन्य अस्पतालमा पठाउनुपर्ने देखिए सोहि अस्पतालले नै समन्वय गर्नुपर्ने बताएका छन् ।