
सन २०१२ मा अमेरिकाबाट व्यावसायिक उडानको प्रशिक्षण लिएर नेपाल फर्किएको थिएँ । बिल्कुलै सोचेको थिइन ६ वर्ष वेरोजगार हुनुपर्ला भनेर । सन २०१८ मा सम्मानित संवैधानिक निकाय लोकसेवा आयोगले इतिहासमै पहिलोपटक नेपाल वायुसेवा निगमको लागि जुनियर को–पाइलट सातौं तहको लागि परिक्षा सञ्चालन गर्यो । १३ जनाको योग्यताक्रमको सूचीमा नम्बर एकमा रहँदारहँदै पनि निगमको तालिम लिन अन्य सहकर्मीहरुको तुलनामा २ वर्ष कुर्नुपर्ला भन्ने सोचेको थिईन ।
पुराना गायक मधु क्षेत्रीको “फूलै फूल मात्र पनि, होइन रहेछ जीवन, काँडाबीच फुल्ने फूल रहेछ जीवन” गीतले दर्शाए जस्तो जिन्दगी भयो । साथै, रामेश, रायन, जीवन शर्मा, मणि थापाजस्ता जनवादी गायकहरुले सङ्घर्षलाई जीवनको पर्याय बताउनुभएको हुँदा पनि निरन्तर मिहेनत र सङ्घर्ष गरिरहन प्रेरणा दिइरह्यो । साथै, नेपालजस्तो मुलुकमा काँडाहरु त झन् पाइलैपिच्छे हुँदा रहेछन् ।
हाम्रो गौरवशाली नेपाल वायुसेवा निगमले ट्रेनी जुनियर को पाइलटलाई थोरै मात्र सुविधा दिने गरेको रहेछ । वास्तवमा तालिम अवधी छोटै हुने परिकल्पनाका साथ न्यून सुविधा मात्रै दिइएको होला तर तालिमका लागि पर्खाइको अवधी लम्बिदा करियर र आर्थिक घाटा गहिरिँदै जान्छ । अध्ययनमै लाखौँको लगानी, रोजगारी पाउनै मुस्किल, महङ्गीको जमानामा रोजगारी पाइसकेपछि पनि करियर र आर्थिक प्रगतिमा विभिन्न बाहनामा वर्षौको पर्खाइ हुदोरहेछ ।
रोजगारी पाइसकेपछि आफ्नो कुनै कमजोरी नहुँदा पनि तालिममा ढिलासुस्ती भएको सम्भवतः नेपालको हवाइ उड्डययन क्षेत्रमा यो पहिलो उदेक लाग्दो घटना होला । मलाई विश्वास छ अब आउने दिनमा निगमले बेलैमा योजनावद्ध तरिकाले संवैैधानिक निकायले प्रकाशित गरेको योग्यताक्रम अनुरुप तालिमहरुको पूर्ण र व्यवस्थित रुपमा सञ्चालन गर्नेछ । करियरका लागि तालिम ढिलो हुने अवस्था सिर्जना भएमा परिस्थिति हेरेर विनियमावलीमा संशोधन गरेर भएपनि ट्रेनी को–पाइलटको मनोबल उच्च बनाउनु पर्दछ ।
हामी ९ जना क्याप्टेन सुरज उपाध्याय, ट्रेनी जुनियर को–पाइलटरु आनन्द श्रेष्ठ, रामकृष्ण श्रेष्ठ र म लाई ग्राउण्ड कक्षा र उडानमा जे जति प्रशिक्षक पाइलट र इञ्जिनियरहरुले अध्यापन गराउनुभयो सबै जना निक्कै उत्कृष्ठ रहनुभएको पायौँ । अध्ययनशिल, तर्कशिल, सिमान्तकृत समुदायबाट मिहेनत गरेरै आफ्नो गर्बिलो स्थान बनाउन सफल, दशकौंको अनुभव र स्वभाव, जस्तै पीडामा पनि सधै कर्मठ र सत्चरित्र रहनुभएका गुरुहरुले हामीलाई प्रशिक्षण दिनुभयो । तालिम अवधिभर हामीमा उमङ्ग जोश, जाँगर सञ्चार भइरह्यो । कर्मचारीले निरन्तर मिहेनत गर्ने र कार्यालयले विधिसम्मत उचित निर्णय गर्यो भने जोश, जाँगर दिर्घकालसम्म उत्पादन भइराख्नेछ ।
हामीले वाई १२ ई चिनियाँ जहाजको तालिमको तयारी गर्दै गर्दा कोरोना भाइरसको लक्षण देखिन सुरु भएको थियो । नेपाल सरकारको तर्फबाट जनतालाई सुरक्षित राख्न लकडाउनको घोषणा पनि भयो । लगभग ४० दिनपछि पुनः हामी तालिमको लागि उपयुक्त वातावरण सिर्जना गर्नेतर्फ पहल गर्न सुरु गर्यौं निगमको नयाँ नेतृत्वले पनि उक्त पहलकदमीलाई गम्भिरतापूर्वक लियो र निर्देशन समेत जारी गर्यो । चलिरहेको जहाज नेपालगञ्जमा दुर्घटना भयो । इञ्जिनियरिङ विभागले अप्रेसन बिभाग र मानब संसाधन बिभागको निर्देशनलाई आत्मसाथ गर्दै हामीलाई तालिम दिनको लागि अर्को जहाज तत्काल मर्मत पनि गर्यो ।
गत वर्ष वाइ १२ ई जहाजको तालिम चीनको हैलोङचियाङ प्रान्तको हार्पिन शहरमा गराउने योजना मुताविक विभागीय नेतृत्वले पहल पनि गरेको थियो । तर, चिनियाँ पक्षले प्रतिव्यक्तिको तालिम खर्च झण्डै ६० लाख लाग्ने अनुमान पेश गर्यो यो खर्चले एअरबसका लागि ३ जना पाइलट उत्पादन गर्न सकिने रहेछ । अत्यन्तै महङ्गो भएपछि हामीले कार्यालयलाई दबाब दिने कुरा पनि भएन । उपयुक्त समयमा छिट्टै नेपालमै गरौंला भन्ने थियो तर एकजना मात्र प्रशिक्षक र एउटा मात्र चिनियाँ जहाज चालु अवस्थामा थियो । पाइलट र जहाज दुबै कमर्सियल प्रयोजनमा लगाउनै पर्यो । यसैक्रममा कोरोनाले सिर्जित लकडाउन गरिब जनताको लागि बिषम परिस्थिती बनेपनि हाम्रा लागी बरदान नै बन्यो । प्रशिक्षक पाइलट र जहाज दुबै कमर्सियल प्रयोजनबाट मुक्त अवस्थामा रहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि ट्राफिक चापबाट मुक्त थियो । धेरै संयोग, धेरैको पहलकदमी, मुख्यतः प्रशिक्षक पाइलटले एक दशकदेखिको हाम्रो प्रतिक्षालाई स्नेहबोधका साथ निरन्तर प्रशिक्षण प्रदान गर्नुभयो ।
सानो मुलुक भएको हुनाले समान कामको लागि धेरै बिबिधता निक्कै कष्टपूर्ण र खर्चालु हुने हुँदा नियन्त्रित उपाय अपनाउनु उचित हुने देख्छु । त्यसैले तालिमका लागि प्रत्येक वायुसेवासँग पर्याप्त मात्रामा सत्चरित्रका स्वदेशी प्रशिक्षक पाइलट हुनैपर्छ । सिमुलेटर पनि नेपालमै हुनु अत्यन्त आवश्यक छ । तर चिनियाँ बिमान वाइ १२ ई को सिमुलेटर उपलब्ध छैन । अब निगमलाई सिमुलेटर प्रविधि समेत उपलब्ध भएको बिमान आवश्यक भएको छ,। अन्यथा तालिमका लागि यसरी नै अरु नयाँ ट्रेनी जुनियर को–पाइलटरुले नबेहोर्नुपर्ला भन्न सकिँदैन । मलाई लाग्छ नेपालको दुर्गम क्षेत्र, ट्रंक रुट र अन्तर्राष्ट्रिय रुटमा विभिन्न कम्पनीले प्रयोग गर्ने जहाजहरु एकै किसिमको भएमा कम्पनीबिचको सहकार्यमा ती बिमान सम्बन्धी सिमुलेटरको सुविधा नेपालमै स्थापना गर्न सकेमा फाइदाजनक होला ।
उड्डयन तालिमका लागि ६४ वर्र्षीय क्याप्टेन फिजोनाथ नेपाली सहृदयी भाव र उर्जावन शैलीमा हरदिन उपस्थित हुनुभयो । हामी झण्डै १० वर्षदेखि नेपाली लाइसेन्सको प्रतिक्षामा छौँ भन्ने थाहा पाउनुभएपछि उहाँ झनै सक्रियतापूर्वक हाम्रो तालिम गराउन क्रियाशिल रहनुभयो । उहाँ सन १९८० को दशकमा क्यानाडियन छात्रवृत्ति अन्तर्गत पाइलट कोर्ष गर्न २५ सदस्यीय टोलीसहित क्यानडास्थित ल्याङ्गले शहरमा पुग्नुभएको थियो । हाम्रो तालिमका क्रममा केहि शारिरिक थकाई लाग्यो होला तर हामी कसैलाई पनि मानसिक थकाई वा तनाब अलिकति पनि लागेन । नागरिक उड्डययन प्राधिकरणले पनि तालिमका कार्यक्रमलाई अनुमती दिएर विशेष परिस्थितीमा सुझबुझपूर्ण निर्णय गर्यो ।
काठमाडौं टावरमा कार्यरत सबै कर्मचारीहरुले विमानस्थलको परिसर र सर्किटमा तालिम गर्दै गर्दा तत्परताका साथ सहयोग गर्नुभयो । निगमका मर्मतसंभार युनिटका कर्मचारीहरुले पनि लकडाउनको बेला भएपनि बिहानै विमानस्थलमा उपस्थित भएर जहाजलाई उडानको लागि तयार गरिदिनुहुन्थ्यो । सबैजनाको तत्परतामा हाम्रो तालिम पूरा भयो ।
८ वर्षपछि आफ्नै देशको आकासमा मैले लकडाउनकै बेला तालिम गर्ने सुअवसर प्राप्त गरे । सहकर्मी आनन्द र रामकृष्णलाई पनि यो तालिम अविष्मरणीय रुपमा रहिरहने छ । हामीले चिनियाँ जहाज वाइ १२ ईको तालिमको क्रममा धेरै जसो धादिङ्ग जिल्लाको आकासमा युक्तीसङ्गत उडान अभ्यास गयौं । जहाजलाई कम गतिमा उडाउने, ३० डिग्री र ४५ डिग्रीमा दायाँ बायाँ मोड्ने, पावर र गति कम हुँदै जाँदा विमान थप उचाई र अघि बढ्न नसक्दा त्यस परिस्थितिलाई रिकभरी गर्ने तरिका, दुवै र एउटा मात्रै इञ्जिनमा उडान र अवतरण गर्ने तरिका लगायतका पाठहरुको अभ्यास गयौं । विमानस्थलबाट उड्दा वा यसतर्फ आउँदै गर्दा गरिने नौचालनमा प्रयोग गर्ने बिधि पनि हामीले सिक्यौँ । मैले जम्माजम्मी १० घण्टाको तालिम र चेकराइडका क्रममा ३१ पटक टेक अफ र लल्यान्डिङ्ग गरेछु ।
अर्का सहकर्मीको तालिम हुँदै गर्दा म यात्रु सिटमा बसेर धेरै समय सहकर्मीको उडानको अनौपचारिक मुल्यांकन र केहि समय त्रिशुली र धादिङ्गका मनोरम पहाड र उत्तरमा रहेका सेताम्य हिमपर्वतको दृश्य अवलोकन गर्दथेँ । यी हिमपर्वत, नदीनाला समृद्ध नेपाल, सुखी नेपालीको लागि अमूल्य स्रोत हुन । प्रत्येक पुस्तामा आवश्यक छ त केबल जनकेन्द्रित नीति र निर्माताहरुको । यता काठमाडौं उपत्यकामा रहेका महत्वपूर्ण स्थलहरुको अवलोकन पनि गर्ने गरिन्थ्यो । राजधानी शहर त पुरै कंक्रिटकै शहर भएछ । कताकति खुल्ला भूभागमा कृषि उत्पादन भइरहेको देख्दा त्यसमा जग्गा दलालहरुको आँखा नलागोस भनेर कामना पनि गरियो ।
तालिमपश्चात पुनः नेपाल नागरिक उड्डड्यन प्राधिकरणको अनुमति लिएर प्राधिकरणकै अवलोकनकर्ता र प्रशिक्षक स्वयं परिक्षक बनेर हाम्रो उडान परिक्षा पनि सम्पन्न भयो । असारदेखि श्रावणसम्म आइपुग्दा नेपाल वायुसेवा निगममा प्रवेश गरेपछि २ वर्षदेिख प्रतिक्षारत हामी ३ जना सहकर्मीले नेपाली आकाशमा व्यवसायिक उडान गर्नको लागि नेपाल नागरिक उड्डययन प्राधिकरणबाट लाइसेन्स प्राप्त गरिसकेका छौँ । नेपालको व्यवसायिक पाइलटको लाइसेन्स प्राप्त हुँदा मभित्र गौरवको अनुभूति सञ्चार भइरहेको छ । के साँच्चिकै अबका दिनमा ढिलासुस्ती बिना करियरका साथै आर्थिक पक्ष सबल होलान त ? भन्ने प्रश्नले पनि घेराबन्दी गरेकै छ । मानवीय प्रवृत्ति अन्तर्गतका व्यक्तिगत स्वार्थ वा संवैधानिक निकायले निर्माण गरेको नियममध्ये कुन प्रभावी भएर आउँछ भन्ने विषयले हाम्रो करियर र आर्थिक पक्ष सबल हुने या नहुने निर्धारण गर्दछ ।
पिताश्रीको सेवा निवृत्तीसँगै म स्थायी पाइलटको रुपमा नेपाल वायुसेवा निगममार्फत जनताको सेवामा जोडिन लाग्दैछु । एकातर्फ ढिलै भएपनि नेपाली लाइसेन्स प्राप्त भएकोमा चित्त बुझाउदै पनि छु । अर्कातर्फ चिनियाँ जहाजले अत्यधिक घाटा भएको निश्कर्षका साथ नउडाउने निर्णय निगमको सञ्चालक समितीले गरेको भन्ने समाचार पढ्दै पनि छु । साढे २ बर्षसम्म म निगममा सेवा गर्न स्ट्यान्ड बाई अवस्थामै रहिरहेको हँुदा बिगतको समय पनि सेवा अवधिमै गनिनु पर्दछ । यसरी हेर्दा अब उच्च ओहोदा जस्तै एअरबसमा पदोन्नति सम्भव देखिन्छ तर, निगमले रिजनल सेवा प्रदान गर्ने गरी एटिआर वा समान प्रकृतिको बिमान ल्याएमा म डोमेस्टिक सर्भिसमै अरु केहि बर्ष सेवा गर्न तत्पर रहनुपर्दछ ।
निगममार्फत हाम्रा अग्रज क्याप्टेन र अन्य कर्मठ कर्मचारीहरुले गर्नुभएको जनसेवा मैले पनि मैत्रीपूर्ण, उर्जावान वातावरणमा निरन्तर कडा मिहेनत र सेवा गर्न पाउनेछु भन्ने विश्वास लिएको छु । राज्य र राष्ट्रिय ध्वजावाहक निगमले कोहि पनि नेपाली युवा लामो समय बेरोजगार बस्न नपर्ने गरी समायोचित निर्णय लिन पछि पर्नु हुँदैन । अन्ततः ब्यवस्थापनमा चुस्तता र सबलता जुनसुकै कार्यालयका लागि हितकारी हुने गर्छ ।
लेखक : नेपाल एयरलाइन्सका पाइलट हुन ।