नेपालमा थपिए १०६९ कोरोना संक्रमित, ४० हजार नाघ्यो

-



     सफल आवाज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ भदौ । नेपालमा मंगलबार १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये ३ सय ४४ महिला र ७ सय २५ पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार गएको २४ घण्टामा १२ हजार ८८ पीसीआर गरिएकोमा १ हजार ६९ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमित संख्या ४० हजार ५ सय २९ जना पुगेको छ ।

यस्तै, गएको २४ घण्टामा ७ सय ६८ जना निको भइ घर फर्केका छन् । हालसम्म २२ हजार १ सय ७८ जना निको भएका हुन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ जना रहेको छ । संस्थागत आइसोलेसनमा बस्नेको संख्या १० हजार ८ सय ३२ र होम आइसोलेसनमा बस्नेहरु ७ हजार २ सय ८० जना छन् ।

देशभर १ सय २७ जना संक्रमित आईसीयूमा उपचाररत् हुँदा भेन्टिलेटरमा बस्नेहरु १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर हाल १२ जिल्लामा ५ सय बढी संक्रमित छन् । जसमा मोरङ, सुनसरी धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चिवतन र रुपन्देही रहेका छन् । यी १२ जिल्लामा देखिएका सक्रिय संक्रमित नेपालमा देखिएका कुल सक्रिय संक्रमितमध्ये तुलनामा ७३ प्रतिशत हुन आउँछ । त्यसैले सरकारले कोरोना संक्रमणको हट स्पट मानिएका ती १२ जिल्लामा परीक्षणको दायर बढाउनुपर्ने देखिन्छ ।

यस्तै, शून्य संक्रमित रहेका जिल्ला संख्या २ बाट बढेर मंगलबार ५ पुगेको छ । सोलुखुम्बु, डोल्पा, मुगु, हुम्ला र मुस्ताङमा अहिले शून्य संक्रमित छ ।

मृतकको संख्या २ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।