गण्डकी बहुप्राविधिक शिक्षालय यसै वर्षदेखि संचालन हुने

- शिक्षालय निर्देशक भने अझै छनोट भएन

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित



पोखरा, १७ भदौ । पोखरा महानगरपालिकाले स्थापना गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा यस वर्षदेखि २ विषयमा पठनपाठन संचालन हुने भएको छ । साथै आगामी वर्षदेखि स्वास्थ्य, कृषि र इञ्जिनियरीङतर्फ प्राविधिक अन्य विषयमा पनि पठनपाठन गर्दै जाने महानगरको लक्ष्य छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई प्रवद्र्धन गर्दै स्थानीयस्तरमै निम्न मध्यमस्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गरी सक्षम आत्मनिर्भर तथा स्वावलम्बी जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ मन्त्रिपरिषद्को गत पुसको निर्णयअनुरुप पोखरा महानगरले पनि सो शिक्षा स्थापना गरी पठनपाठन तयारी थालेको हो ।

महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बाट आवश्यक सम्बन्धनप्राप्त गरी शिक्षालयमा यसै वर्षबाट ‘डिप्लोमा इन अटोमोबाइल इञ्जिीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इञ्जिीनियरिङ’ तर्फ पढाइ सुरु हुने बताए । उनका अनुसार दुवै कोर्स ३ वर्षे कोर्स हुन् । सिटिइभिटीले यस वर्ष विद्यार्थी भर्नाका लागि आवेदन खुलाउने र उत्तीर्ण विद्यार्थीलाई शिक्षालयमा अध्ययन अध्यापन व्यवस्था मिलाइने आचार्यले बताए । कक्षा संचालन भने दसैँपछि सुरु हुने तयारी छ ।

दुवै विषयमा निर्धारित ४८–४८ सिट संख्यामा विद्यार्थी भर्ना लिइनेछ । शिक्षालय प्रमुखको संयोजकत्वमा गठित भर्ना समितिले विद्यार्थी भर्ना लिने प्रावधान छ । जसमा शिक्षालयबाट संचालित शैक्षिक कार्यक्रममा निर्धारित विद्यार्थी संख्यामध्ये सामान्यतया ५० प्रतिशत पोखरा महानगरका विद्यार्थीलाई, १० प्रतिशत कास्की जिल्लाका अन्य पालिका र ४० प्रतिशत कास्की जिल्ला बाहिरका विद्यार्थीलाई उपलब्ध गराइने छ । तर, उल्लेखित अवस्थाअनुसार निवेदन पर्न नआए वा नाम छनोट नभए वा भर्ना नभए रिक्त स्थानमा मेरिट लिस्ट आधारमा भर्ना गरिने गण्डकी बहुप्राविधिक शिक्षालय ऐन, २०७६ मा उल्लेख छ । ४८ सिटमध्ये १० जना निःशुल्क, ६ जनालाई सहूलियत र ३२ जनालाई पूर्ण शुल्कीय आधारमा पठनपाठन हुनेछ । अटो मोवाइल कोर्स पूरा गर्न पूर्ण शुल्क तिर्ने विद्यार्थीलाई १ लाख ७५ खर्च लाग्छ । बाहिर पढ्दा भने ३ लाख ७५ हजार खर्च बेहोर्नुपर्छ । यस्तै, सिभिल इञ्जिनियरीङतर्फ १ लाख ९५ हजार लाग्छ । बाहिर पढ्दा ३ लाख ८० हजार रुपैयाँसम्म लाग्छ ।

बहुप्राविधिक शिक्षालय संचालन प्रक्रियास्वरुप महानगरले गत माघ १० मा गण्डकी बहुप्राविधिक शिक्षालय ऐन, २०७६ स्थानीय राजपत्रमा प्रकाशित गरेको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरी यो कोर्स अध्ययन गर्ने विद्यार्थीलाई ३ वर्ष अध्ययनपछि प्राप्त गर्ने प्रमाणपत्र विश्वविद्यालय वा अन्य शैक्षिक संस्थाको प्रवीणता प्रमाणपत्रसरह हुने ऐनमा उल्लेख छ ।
आगामी वर्षदेखि अन्य विषय पनि पढाउँदै जानुपर्ने भएकोले पोखरा–२९, खोप्लाङमा १७ रोपनी सार्वजनिक जग्गा शिक्षालयले अधिग्रहण गर्ने तयारी गरेको छ । शिक्षालयको आफ्नै पूर्वाधार बन्नुअघिसम्म भण्डारढिकस्थित जनप्रकाश माविमा कक्षा सञ्चालन गर्ने जनाएको छ । त्यसको अभ्यास भने पश्चिमाञ्चल क्याम्पसमा हुनेछ ।

यस्तै, महानगर प्रमुख मानबहादुर जिसीले प्रशस्त सम्भावना भएकोले क्षेत्रमा रोजगारी हुनुपर्नेमा सधैँ बेरोजगार भइ युवा जनशक्ति बस्नुपरेकोले महानगरले प्राविधिक शिक्षा स्थापना गरेको बताए । उनले बजारको माग आधारमा अन्य विषयका कक्षासमेत थप गर्दै जाने बताए ।

शिक्षालय संचालक समिति गठनमा पोखरा महानगरका प्रमुख पदेनअध्यक्ष हुने व्यवस्था छ । यसैगरी महानगर कार्यपालिकाका सदस्यमध्ये प्रमुखद्वारा मनोनीत १, सीटीइभीटीको प्रतिनिधि (प्रदेश वा संघीय कार्यालय) पदेनसदस्य, स्थानीय शिक्षाप्रेमीमध्ये अध्यक्षद्वारा मनोनीत १ महिला २ जना मनोनीत सदस्य, महानगर शिक्षा महाशाखा प्रमुख पदेन सदस्य, शिक्षालयमा प्रशिक्षण दिइने विषयसँग सम्बन्धित रोजगारदाता, व्यवसायी, उद्योगी, ख्यातिप्राप्त प्राविधिकमध्ये संचालक समितिबाट मनोनीत २ मनोनीत सदस्य, शिक्षालयका निर्देशक पदेन सदस्यसचिव हुने व्यवस्था छ । मनोनीत सदस्यको पदावधि ३ वर्षको हुनेछ । मनोनीत सदस्य पुनः एक कार्यकालको लागि मात्र मनोनीत हुने व्यवस्था ऐनमा उल्लेख छ ।

प्राविधिक शिक्षालय सञ्चालनका लागि महानगर प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सञ्चालक समिति गठन भैसकेको छ । शिक्षालयमा निर्देशक चयन हुन बाँकी छ । संचालक समिति ३ वर्षे कार्यकालका लागि १ जना निर्देशक चयन गर्ने व्यवस्था छ । यसअघि महानगर कार्यपालिकाबाट छनोट राधाकृष्ण लामिछानेले राजीनामा दिएपछि सो पद रिक्त थियो । रिक्त पदमा संचालक समितिले अर्को शिक्षालय प्रमुख नियुक्तिका लागि सिफारिस गर्नसक्ने प्राबधान छ । तर समितिले नया ब्यक्ति सिफारिस गर्न छनोट समिति गठन गरेको छ । कोरोना महामारीबीच ३ दिनमात्र (साउन २८–३० सम्म) अवधि राखेर निर्देशक पदको लागि महानगरले खुलाएको विज्ञापनप्रति भने विरोध आएको थियो । सो समितिले योग्य ३ जनाको नाम पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखामा सिफारिस गर्ने र महाशाखाले तीमध्ये १ जनालाई शिक्षालय प्रमुख नियुक्त गर्नेछ । तर विशेष अवस्थामा महानगरको कार्यपालिकाले सेवा करारबाट पनि उपयुक्त व्यक्ति छनोट गरी शिक्षालय निर्देशक छनोट गर्न सक्ने व्यवस्था ऐनको दफा १० मा उल्लेख छ ।

निर्देशक बन्न मान्यताप्राप्त शैक्षिक संस्थाबाट विज्ञान वा इञ्जिनियरिङ विषयमा स्नातकोत्तर तह उत्तीर्ण भएको हुनु पर्नेछ । पेस हुन आएका दरखास्तमध्ये सर्ट लिस्टिङ आधारमा ३ जनाको ३ वर्षे कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता हुनेछ । महानगर शहरी योजना आयोगका आर्किटेक्ट इञ्जिनियर बाबुराम भण्डारीको संयोजकत्वमा बनेको निर्देशक सिफारिस समितिले उत्कृष्ट ३ जनाको नाम शैक्षिक प्रशासन महाशाखामा सिफारिस गर्ने जनाएको छ ।

यसैबीच, महानगर प्रमुख मानबहादुर जिसीका स्वकीयसचिव लक्ष्मण तिमिल्सिनाले साउन अन्तिममा शिक्षालयको निर्देशक छनोट सिफारिस प्रक्रियामा भाग लिन राजीनामा दिएका थिए । भौतिकशास्त्रमा स्नातकोत्तर उनले महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध समन्वयकर्ताको महत्वपूर्ण जिम्मेवारी समेत सम्हालेका थिए ।