
पोखरा, १७ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
तनहुँको व्यास–२ निवासी २० वर्षीया युवतीको मंगलबार काठमाडौं त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।
मिर्गौला समस्या भई डायलाइसिस गराउँदै आएकी ती युवती मंगलबार अल्का अस्पताल भर्ना भएकी थिइन् । सोही दिन नै उनमा कोरोना पुष्टि भएको थियो ।
अल्का अस्पतालपछि उनलाई थप उपचारका लागि सोही दिन नै उनलाई त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारक्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको हो ।
यसैगरी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार २ सय ७३ पुगेको छ । गएको २४ घण्टामा गण्डकीमा ६३ जना कोरोना संक्रमित थपिएका हुन् । निको हुने १ हजार ७ सय १२ जना पुगेका छन्।
तीमध्ये सक्रिय संक्रमित संख्या ५ सय ३८ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।