देशभर थपिए १२२८ कोरोना संक्रमित, ६ जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ भदौ । नेपालमा गएको २४ घण्टामा १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार संक्रमित हुनेमध्ये ३९४ महिला र ८३४ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । नेपालमा बुधबारमा मात्रै १ हजार १ सय २० जनामा संक्रमण देखिएको थियो । यस्तै , हाल संक्रिय संक्रमितको संख्या भने १८ हजार ८ सय १३ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र थप ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गरिएको थियो।

बिहीबारमात्र ९ सय १७ जना कोरोना संक्रमित निको भएका छन् । यो सहित निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ ।

मृतकको संख्या भने २ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । तीमध्ये ४ जना महिला र २ जना पुरुषहरु छन् ।

स्वासप्रश्वासको माध्यमबाट कोरोना सर्ने भएकोले सचेतना अपनाउन मन्त्रालयले आग्रह गरेको छ । तर दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिकाहरुलाई सबै क्षेत्रबाट विशेष ख्याल गर्न पनि आग्रह गरिएको छ । घरपरिवारमा यसबारे दैनिक छलफल र बहस गर्न सुझाव दिइएको छ ।