हेटौँडा उपमहानगरमा रु २३ करोडमा सडक निर्माण र स्तरोन्नति

-



     सफल आवाज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित



बाग्मती, २१ भदौ । यातायात पूर्वाधार निर्देशनालय बाग्मतीले रु २३ करोड ४० लाखको लागतमा हेटौंडा उपमहानगरपालिकामा सडक निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया सुरु गरेको छ । निर्देशनालयका निर्देशक सहदेव भण्डारीका अनुसार उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका १२ किमी ९५८ मिटर सडकको निर्माण गर्न बोलपत्र आह्वान भइसकेको बताईएको छ ।

सडक निर्माण प्रक्रिया उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र जनप्रतिनिधिको विशेष अनुरोधमा अगाडि बढेको हो । हेटौंडा–२ मानस चोकदेखि मनकामना चोक, सोही वडाको क्याम्पस चोकदेखि वनस्खण्डी, वडा नं ४ को हुप्राचौरको सम्पूर्ण अधुरो काम, वडा नं ५ को चिसोपानी चोकदेखि मिलन चोक, वडा नं ६ रगङ्शाला चोकदेखि हरियाली खहरे चोक तथा हरियालीचोकदेखि वडा नं ८ को सीमासम्म सडकको स्तरोन्नति गरिदैछ ।

हेटौंडा– ८ को निमचोकदेखि पहिलो खहरे, १० का टिसिएन रोड र भुटनदेवी रोड, ११ को थानाभर्रयाङ रोड, १२ को ठाडोबाटो भोर्ले, १४ को घलान तथा १५ को चक्रपथदेखि स्मृतिभवनसम्मको बाटोको निर्माण र स्तरीकरण प्रक्रिया अगाडि बढेको राससले लेखेको छ ।
वाग्मती प्रदेशको राजधानीसमेत रहेकाले सडकलाई व्यवस्थित र सुरक्षित बनाउन लागिएको बताइएको छ ।