सेन्ट मेरिज माविमा वार्षिक खेलकुद तथा पीटी प्रदर्शन

-



     सफल आवाज    
     मंसिर ५ गते २०८३ मा प्रकाशित



पोखरा, ५ मंसिर । पोखरा महानगरपालिका वडा नं. १५ नयाँगाउँस्थित प्रतिष्ठित विद्यालय सेन्ट मेरिज उच्च माध्यमिक विद्यालय (St. Mary’s H.S. School) मा आज (शनिबार, २१ नोभेम्बर २०२६) वार्षिक खेलकुद तथा पीटी प्रदर्शन (Annual Sports & P.T. Display) भव्य रूपमा सम्पन्न भएको छ।

पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरण बानियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य बलराम पाैडेल, विद्यालयका व्यवस्थापक सिस्टर नीना, सेन्ट फ्रान्सिस विद्यालयका फादरहरू, सिस्टरहरू, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

विविध खेलकुद, पीटी र कला प्रस्तुत

पञ्चेबाजाको स्वागतसँगै सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, नृत्य, योग पीटी, सामूहिक पीटी तथा विभिन्न खेलकुद र कलाकौशल प्रस्तुत गरेका थिए। कार्यक्रम तालिकाअनुसार कक्षा २ देखि ५ सम्म हाउसअनुसार मार्चपास तथा म्यूजिकल र मास पीटी सञ्चालन गरिएको थियो भने कक्षा १ का विद्यार्थीले स्वागत नृत्य र योग पीटी प्रस्तुत गरेका थिए।

त्यसैगरी विभिन्न दौड प्रतियोगिता (१०० मिटर, ४×१०० मिटर रिले र १०० मिटर हर्डल्स) तथा कक्षा १ देखि ५ सम्म सेक्सनअनुसार हुला–हुप, बेलुन जम्प, रोटेसन अफ द बल, क्याटरपिलर रेस, जिप अप द ज्याकेट, ब्याङ्नर रेस, स्किपिङ रेस, फ्लावर हप, कप एन्ड स्ट्र र जिगज्याग बललगायतका मनोरञ्जनात्मक खेलकुद प्रतियोगिताहरू सम्पन्न भएका थिए।

प्रमुख अतिथि र सिस्टर जेसीको सन्देश

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा नं. १५ का अध्यक्ष तोरण बानियाले विद्यार्थीहरूको अनुशासन, उत्साह र सामूहिक भावनाको प्रशंसा गर्दै अतिरिक्त क्रियाकलाप तथा खेलकुदले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सिस्टर जेसीले खेलकुदले बालबालिकामा अनुशासन, टिमवर्क, साहस, धैर्य र आपसी सम्मानको भावना सिकाउने उल्लेख गर्नुभयो। दौड प्रतियोगिताको एक प्रसंग स्मरण गर्दै उहाँले लडेकी साथीलाई उठ्न सघाएर सँगै दौड पूरा गर्ने बालबालिकाको उदाहरणमार्फत जित–हारभन्दा पनि आपसी सहयोग, सहभागिता र खेलभावना महत्त्वपूर्ण हुने सन्देश दिनुभयो।

सिस्टर जेसीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि तोरण बानिया, वडा सदस्य बलराम पाैडेल, सेन्ट फ्रान्सिसका फादरहरू, विद्यालय व्यवस्थापक सिस्टर नीना, अभिभावक, खेल शिक्षकहरू मिन सर र गंगा मिस, कक्षा शिक्षकहरू, पर्दा पछाडि रहेर सजावट तथा व्यवस्थापनमा खटिने सहयोगी कर्मचारीहरू र सम्पूर्ण विद्यार्थीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले पर्दा पछाडि रहेर काम गर्ने कर्मचारीहरूको योगदान सबैले नदेखे पनि विद्यालयले त्यसको उच्च कदर र हृदयदेखि प्रशंसा गर्ने बताउनुभयो।

अन्त्यमा उहाँले सम्पूर्ण विद्यार्थीलाई ‘आजको कार्यक्रमका तारा’ को संज्ञा दिँदै पुरस्कार जिते पनि वा उत्कृष्ट हुने प्रयास गरे पनि हरेक इमानदार प्रयास आफैँमा उपलब्धि भएको बताउँदै खेल्दै, सिक्दै र रमाउँदै अगाडि बढ्न शुभकामना दिनुभयो।