
mask
काठमाडौँ, २२ भदौ । उमेर समूह अनुसारका व्यक्तिलाई लक्षित गरी मास्कहरु उत्पादन र बजारिकरण गर्न सकेमा यसको प्रयोग वढ्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् । “कार्टुन लगायतका चित्रहरु मास्कमा राख्दा चित्र मन पराएर बालबालिकाले मास्क लगाउन सक्छन्” स्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भने, “किशोरकिशोरीमा फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।”
विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेशा र रुचिअनुसारको मास्कको उत्पादनले सहयोग गर्ने डा.पाण्डेले बताए । खेलप्रेमीका लागि खेलाडीको फोटो भएको त अरुका लागि सगरमाथा वा नेपालका सम्पदाको फोटो राखेको मास्क हुँदा उनीहरु खुशी हुनेछन् । ज्येष्ठ नागरिकलाई भगवानको फोटो हुँदा रुचिकर हुनसक्ने उनको तर्क छ ।
जनस्वास्थ्य विशेषज्ञ डा.पाण्डेका अनुसार सबैलाई रुचिअनुसार मास्क बजारमा उपलब्ध हुँदा यसको प्रयोग बढ्छ । कोभिड–१९ को सङ्क्रमण देशभरि बढीरहँदा मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने सबैभन्दा बलियो अस्त्रका रुपमा हेरिएको छ । बजारमा अहिले पनि सबै उमेरका लागि फरक आकारका मास्क नभएको उनको भनाई छ । जुत्ता, कपडा जस्तै यो पनि फरक फरक आकार र किसिमका हुनुपर्छ । उनले भने, “युवामा नै अलि दुब्लो मान्छेलाई समेत मिल्ने खालको मास्क पाइँदैन ।”

एन ९५ वा के ९५, सर्जिकल र कपडाको मास्क गरी अहिले बजारमा तीन किसिमका मास्क पाइन्छ । तीमध्ये एन ९५ माक्स भल्भ भएको र नभएको पनि बजारमा उपलब्ध छ । सर्जिकल माक्सभन्दा कपडाको बढी प्रभावकारी हुन्छ । एन ९५ वा के ९५ अस्पतालको लागि डिजाइन गरिएको माक्स हो ।
अरु मास्कको तुलनामा महङ्गो पर्ने भएकाले आमनागरिकले एन ९५ लगाउन जरुरी नभएको डा. पाण्डेको भनाइ छ । यो धोएपछि कसिलो नहुने भएकाले धेरै धुन मिल्दैन । त्यस्तै, भल्भ भएको मास्क सास फेर्न र कुरा गर्न सजिलो भएपनि सङ्क्रमितले यो लगाउँदा अरुलाई सर्न सक्ने सम्भावना छ । उनले भने, “यस्तो मास्कको प्रयोग आमनागरिकले नगरेकै राम्रो हो ।”
कोभिड–१९ सङ्क्रमण भित्रिएसँगै विश्वमा नै मास्कको प्रयोग बढीरहेको देखिन्छ । शुरुमा विश्व स्वास्थ्य संगठनले स्वस्थ व्यक्तिले लगाउनु पर्दैन र मास्क लगाउने भनेको सङ्क्रमितले हो भन्ने धारणा बनाएको थियो । कोरोना भाइरसको आकार सानो भएकाले प्वालबाट छिर्छ भन्ने धेरैको बुझाई थियो । बिस्तारै, एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस मात्रै जाँदैन बोल्दा, खोक्दा, वा हाछ्युँ गर्दा त्यो कणसँगै जान्छ भन्ने अध्ययनले देखायो । त्यो कण आँखाले नदेखेपनि ठूलो आकारको हुन्छ । त्यो मास्कबाट छिर्देन । त्यसले सङ्क्रमित भए वा नभएपनि मास्क लगाउनुपर्छ भन्ने धारणा आएको पाइन्छ ।
तीन किसिमका मास्कसँगै बजारमा रुमाल वा पछ्यौरा, सल, गलबन्दी प्रयोग पनि बढीरहेको देखिन्छ । पछिल्लो अनुसन्धानले एक दुई पचास, सय भाइरस प्रवेश गर्दैमा सङ्क्रमण हुँदैन र सङ्क्रमण हुन एकदेखि तीन हजार भाइरस आवश्यक पर्छ भन्ने देखाएको छ । त्यसैले पनि मास्क वा अरु कपडाको प्रयोग गरी नाक, मुख छोप्दा भाइरसको लोड कम हुने डा.पाण्डेको धारणा छ ।
आमनागरिकले दैनिक घरबाहिर निस्कदा कपडाकै मास्क प्रयोग गर्नसक्ने उनको सुझाव छ । कटन वा मलमल कपडाको दुई तीन पत्र बनाएर सिलाएको मास्कले सङ्क्रमणबाट बच्न सघाउँछ ।
कतिपयले एकभन्दा बढी मास्क लगाएको पाइन्छ । सुरक्षाका हिसाबले एक तहको मास्क एकभन्दा बढी लगाउनु राम्रो भएपनि यसबाट सास फेर्न गाह्रो हुन्छ । बजारमा पाइने धेरै मास्कमा नाकको माथिल्लो भागमा च्याप्ने नभएको पाइएको छ । ती मास्कमा आफैँले पनि च्याप्ने कुरा हाल्न सकिने उनको धारणा छ । उनले भने, “नाक माथि च्यापेर गालाबाट हावा पस्न रोक्न सकिन्छ ।”
कस्तो मास्क लगाउने भन्नेसँगै कसरी मास्क लगाउने भन्ने कुराले पनि सङक्रमण रोक्न सकिन्छ । मास्क लगाउँदा कसिलो हुनुपर्छ र हावा छिर्ने हुनुहुँदैन । पातलो मान्छे वा अनुहार सानो अनुहार लगाउँदा आँखा मुनिको भागबाट हावा छिर्ने सम्भावना हुने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
कोभड–१९ को रोकथामका लागि मास्क प्रयोगले सहयोग पुग्ने विभिन्न देशको प्रयोगको दरले देखिएको छ । चीन, जापान, कोरिया, कम्बोडिया, भुटान, सिङ्गापुरलगातका ९० प्रतिशत बढी जनसङ्ख्याले मास्क प्रयोग गर्ने देशमा कोभिड चाँडो नियन्त्रणमा आएको पाइएको छ । यी देशका नागरिकमा पहिलेदेखि नै विभिन्न भाइरसबाट बच्न मास्क लगाउने बानी थियो । अमेरिका, संयुक्त अधिराज्य र युरोपका देशहरुमा धेरैले मास्क लगाउनु सजाय ठान्छन । अध्ययनहरुले सङ्क्रमण उच्च गतिमा फैलिरहँदा पनि यहाँका २५ प्रतिशतभन्दा कमले मास्क लगाएको पाइएको थियो । यीनै देशहरुमा पनि माक्सको प्रयोग भएका राज्यमा सङ्क्रमण चाँडो नियन्त्रणमा आएको पाइएको डा.पाण्डेले जानकारी दिए ।रासस








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




