दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिमकै गौरवको योजना

-



     सफल आवाज    
     भाद्र २४ गते २०७७ मा प्रकाशित



कञ्चनपुर, २४ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सङ्घीय सांसद निरुदेवी पालले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिम क्षेत्रकाे गौरवको योजना भएको बताएकी छन ।

दाेधारा–चाँदनीमा सुक्खा बन्दरगाहसम्बन्धी एक कार्यक्रममा उनले सुक्खा बन्दरगाह नेकपाकै एजेण्डा भएकाले निर्धारित समयमै बन्ने बताइन । दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्नुपर्छ, यो सुदूरपश्चिमको विकासका लागि हो, उनले भनिन ।

सांसद पालले दोधारा–चाँदनीको कञ्चनभोजमा सुक्खा बन्दरगाह बन्ने र त्यसका लागि सबै व्यवस्था सरकारले गर्ने उनकाे भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारले कञ्चनभोजमा सुक्खा बन्दरगाह बनाउँदा विस्थापित हुने परिवारको उचित व्यवस्थापन गरिने बताए ।

सुक्खा बन्दरगाह बनाउँदा विस्थपित हुने परिवारले कुनै चिन्ता लिनु पर्दैन”, उनले भने सरकारले कसैलाई पनि असहज हुने गरी काम गर्दैन, सबैको न्यायोचित व्यवस्थापन गर्छ । उनले सुक्खा बन्दरगाह बनाउँदा स्थानीयवासीलाई व्यवस्थापनबिना हटाइने भनेर गलत प्रचार गरेको उल्लेख गर्दै त्यस्ता भ्रममा नपर्न सबैमा आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विसं २०६६ मा दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बनाउने घोषणा गरेका राससले लेखेकाे छ । विसं २०७४ को निर्वाचनमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने सत्तारूढ नेकपाको प्रमुख चुनावी एजेण्डा पनि थियो ।