भारतमा एकै दिनमा अहिलेसम्मकै बढी संक्रमित भेटिए

-



     सफल आवाज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित



नयाँ दिल्ली, २७ भदौ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५ सय ७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको देखिएको छ ।

संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या अहिलेसम्म ७७ हजार ४ सय ७२ पुगेको छ ।

कुल मृतकमध्ये एक हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले शनिबार जनाएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९ सय ८५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ३६ लाख २४ हजार १ सय ९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

अधिकारीहरूका अनुसार अरु ९ लाख ५८ हजार ३ सय १६ जना अझै पनि सङ्क्रमित अवस्था मै रहेका छन् ।

भारतमा सवैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म कोरोनाकै कारणले २८ हजार जनाको मृत्यु भएको छ । (रासस/एएनआई)