कोरोना बीमाको मापदण्ड शंसोधन, नयाँ मापदण्ड अनुसार संक्रमितले २५ हजार पाउने

-



     सफल आवाज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ भदौ । बीमा समितिले काेराेना बीमाकाे मापदण्ड शंसोधन गरेको छ । नयाँ मापदण्ड अनुसार अब कोरोनाको बीमा गर्नेले एक लाख रुपैयाँ नपाउने भएका छन । यस अघि कोरोना बीमा गरेको व्यक्तिमा संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउने व्यवस्था रहेको थियो ।

समितिले उक्त मापदण्ड संशोधन गर्दै भदौ २८ गतेपछि एक लाख रुपैयाँको बीमा गरेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँ मात्रै पाउने व्यवस्था गरेको छ । तर बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा ७५ हजार रुपैयाँसम्म पाउने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ ।

नयाँ व्यवस्था अनुसार संक्रमित व्यक्ति घरमै आइसोलेशनमा बसेको छ भने उसले राहत खर्च वापत २५ प्रतिशत अथवा २५ हजार रुपैयाँ मात्रै पाउनेछ । यदी संक्रमित व्यक्ति अस्पताल भर्ना हुन परेमा वा तोकिएको आईसोलेसन सेन्टरमा बसेको अवस्थामा चिकित्सकले प्रमाणित गरे बमोजिम कोभिड १९ संग सम्बन्धित औषधी उपचार खर्चको बिल भर्पाई पेश गरे अधिकतम ७५ प्रतिशत अथवा ७५ हजार रुपैयाँसम्म पाउने छन । भदाै २८ गतेसम्म बीमा गरेकाहरूकाे लागि भने नयाँ मापदण्ड लागु नहुने बताइएकाे छ ।