एकै दिनमा अहिलेसम्मकै उच्च १५३९ संक्रमित थपिए

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३१ भदौ । नेपालमा एकै दिनमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १ हजार ५ सय ३९ मा कोरोना संक्रमण थपिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा १० हजार ४ सय ९४ नमूनाको पीसीआर परीक्षण गरिएको र त्यसमध्ये १ हजार ५ सय ३९ मा संक्रमण देखिएको बताएका हुन् ।

यो सहित नेपालमा संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ र बाँकी होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ६८ छ भने हालसम्म ४१ हजार ७ सय जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । निको हुने प्रतिशत ७१ दशमलव ५ हुन आउँछ ।

देशभर हालसम्म ८ लाख ७२ हजा २ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ ।

संक्रमितमध्ये ३ सय ७९ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाबाट ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको छ ।