गण्डकीमा संक्रमित ३४ सय पार, पोखरामा १३ थप

-



     सफल आवाज    
     असाेज ३ गते २०७७ मा प्रकाशित



पोखरा, ३ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या शनिबार ३४ सय नाघेको छ । शनिबारमात्रै प्रदेशमा ६६ जना कोरोना संक्रमणका बिरामी फेला परेका हुन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३ हजार ४ सय २ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनायो ।

जसअनुसार पोखरामा थप १३ जनामा कोरोना संक्रमण देखा परेको छ । तीमध्ये २ महिला र ११ पुरुष छन् ।

यसैगरी, नवलपुरमा ४५, तनहुँ ३, स्याङ्जा र पर्वत २–२ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा संक्रमितमध्ये २ हजार ५७ जना निको भइसकेकोमा ३२ जनाले ज्यान गुमाए ।

मुलुकभर पनि संक्रमित दर बढ्दै गएको छ । नेपालमा शुक्रबारमात्रै २ हजार २० जनामा संक्रमण देखिएको थियो । यो संख्या एकै दिनमा भेटिएका संक्रमितको उच्च संख्या हो ।