पोषणयुक्त तरकारी निउरो

- निउरोको पास्ता, छोइला, सलाद, निउरो सादेको आदी परिकार समेत बनाउन सकिने

-



     आर.बि.बुढाथोकी    
     असाेज १० गते २०७७ मा प्रकाशित



निउरो हामी सबैलाई थाहा भएकाे एक जैबिक तरकारीकाे नाम हो । नेपाललाई विश्वमा खानाबाट चिनाउने माध्यम पनि हो निउरो । नेपालमा ५ सय भन्दा ज्यादा प्रजातिका उन्यु पाइने कृषि अनुसन्धान परिषदका बैज्ञानिकहरुको भनाई छ । निउरो पनि उन्युकै एउटा प्रजाति हो ।

उन्युहरुको प्रजाति पत्ता लगाउन बेलायती, जापानी, भारतीय तथा नेपाली बैज्ञानीकहरुले धेरै अध्ययन र अनुसन्धान गरेका छन । निउरो नेपाली भन्सामा धेरै मन पराइएको जङली तरकारी हो । हिजोका दिनमा छाक टार्न खाने गरिएको यो अहिले स्वास्थ्यका लागि फाईदाजनक हुने भएपछि शहर बजारमा पनि खोजी खोजी खान थालेका छन ।

निउरोमा एन्टी अक्सिडेन्ट पाईने भएकोले औषधीय र पोषणयुक्त तरकारीको रुपमा लिन थालिएको छ । तर निउरो खाँदा ख्याल गर्नुपर्ने पनि हुन्छ । केहि उन्यु जातीको निउरो बिसालु हुने भएकोले ध्यान पुर्याउन जरुरी हुन्छ । निउरो मध्य तथा उच्च पहाडी क्षेत्रका ओसिलो जंगल, खोल्साहरुमा प्रसस्त पाईन्छ । यसलाई अहिले तरकारी तथा अचारको रुपमा प्रयोग गरिन्छ ।

स्वादका हिसाबले भन्ने हो भने निउरो थरीथरीका हुन्छन । कोहि तिख्खर र कोहि हल्का तिख्खर स्वादका हुन्छन । निउरो पाईने सिजनमा बजारबाट किनेर खाने तरकारीको सट्टामा यसलाई विकल्पको रुपमा लिन सकिन्छ । साथै यसको बिक्रीबाट आर्थिक लाभ लिन पनि सकिन्छ । जंगलमा पाईने भएकोले यसमा किटनाशक औषधीको प्रयोग नहुने भएकाेले स्वास्थ्यका लागी लाभदायक मानिन्छ ।

निउरोको प्रयोग र परिकार

निउरोलाई पिज्जामा समेत प्रयोग गर्न सकिन्छ । निउरोको पास्ता, निउरोको छोइला, सलाद, निउरो सादेको आदी परिकार बनाउन सकिन्छ । पछिल्लो समयमा फाइभ स्टार होटलका मेनुमा यसलाई राखिएको पाईन्छ । विशेषतः बिदेशी पर्यटकलाई नेपाली स्वाद चखाउने उद्देश्यका साथ यस्तो मेनु राख्न थालिएको हो । निउरो र आलुको तरकारी, निउरोको फाडो, निउरोलाई सिद्रा माछामा राखेर पकाउँदा निकै स्वादिलो हुन्छ । सागको रुपमा भुटेर खाँदा पनि निकै मीठो हुन्छ । निउरोमा प्रसस्त आइरन पाईने भएकोले गर्भबती महिलालाई बिभिन्न परीकार सुप वा सलाद बनाएर दिंदा फाईदा पुर्याउँछ । निउरो जैविक विविधता, वातारणीय सन्तुलन, खाद्य सुरक्षा, रोजगारीको सिर्जना, आम्दानीको श्रोत आदिकाको रुपमा जोडिएको हुनाले यसलाई कसरी प्रयोग गर्ने ? नयाँ नयाँ परीकारको विकास गरेर होटल रेस्टूरेन्टमा नेपाली खानाको रुपमा कसरी पस्कने ? भनेर तालिम पनि दिन थालिएको छ ।

नेपाली निउरो अहिले बिदेशी पर्यटकको जिब्रोमा झुण्डिन थालेको छ । बिदेशीलाई नेपाली स्वाद चखाउने हेतुले निउरो र अन्य नेपाली खानाहरुमा फापरको रोटी र सिलमको अचार, छोइला, बारा, सिस्नोको सुप, गेडागुडीको झोल, क्वाँटी, कोदोको रोटी, गोठ धुपको खिर जस्ता परीकारलाई पनि मेनुमा राख्न थालिएको छ । निउरोका दर्जनौ परीकार तयार पार्न मिल्ने भएकाले समय अनुसार यसका परिमार्जित परीकार पनि थपिदै गएका छन ।

वन जंगल, खोलाको किनार, अल्लो तथा जुका लाग्ने ठाँउमा निउरो हुने भएकाले जोखिम मोलेरै भए पनि निउरो टिपेर बजारसम्म पुर्याउने काम गरिन्छ । यसबाट आर्थिक लाभ पनि भईरहेको छ । बीउ रोप्न नपर्ने तथा मिहिनेत नलाग्ने यो वनस्पती प्रायः नेपालका सबै प्रदेशका मध्य तथा उच्च पहाडी भू–भागका खोला, खाेल्सा किनार र ओसिलो जंगलमा पाइन्छ ।

किन खाने ?

स्वास्थ्यका लागि पनि निउरो निकै राम्रो मानिएको छ । यसबाट भिटामिन ए, बि र सि पर्याप्त मात्रामा पाइन्छ । निउरोमा आइरनको मात्रा पनि हुन्छ । आँखाको दृष्टि कमजोर भएकाहरुले पनि नियमित खाँदा लाभदायक हुन्छ । मुटु र मधुमेह रोगीहरुका लागि पनि निउरो निकै उत्तम आहार मानिन्छ । समयमा भोक नलाग्ने समस्या छ भने पनि नियमित निउरोको सेवन गर्दा लाभ हुन्छ । किनभने यसले भोग जगाउने काम गर्छ । निउरोबाट प्रशस्त मात्रामा क्याल्सिएम पाइने भएकाले यसले हाड र दाँतलाई पनि मजबुत बनाउन सहयोग पुर्याउँछ ।

भिटामिन ए, भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, ओमेगा ३, ओमेगा ६ बिटा, क्यारोटिन, खनिज पदार्थ लगायत मानव शरीरका लागि उपयोगी तत्वहरु पाईन्छन । यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने स्वास्थ्य जानकारहरु बताउछन ।

लेखक :सोल्टी क्राउन प्लाजाका सु सेफ हुन ।