काठमाडौँ, मोरङ, चितवन र सुर्खेतमा ६० वर्ष पुगेका र दीर्घरोगीलाई घरबाट ननिस्कन आग्रह

-



     सफल आवाज    
     असाेज ११ गते २०७७ मा प्रकाशित



काठमाडौ, ११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर उच्च रहेका जिल्लामा ६० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई र दीर्घरोगीलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँ, मोरङ, चितवन र सुर्खेत जिल्लामा कोरोना भाइरस सङ्क्रमणको दर उच्च देखिएकोले ६० वर्ष उमेर पुगेका र दीर्घरोगीलाई घरबाट ननिस्कन आग्रह गरेका हुन ।

डा. गौतमका अनुसार अब सबै प्रयोगशालाले पिसिआर परीक्षणको रिपोर्ट सम्बन्धित व्यक्तिलाई दिन पाउने भएका छन । पिसिआर परीक्षण नतिजा नेगेटिभ वा पोजेटिभ जस्तो आए पनि सम्बन्धित व्यक्तिलाई दिनका लागि प्रयोगशालालाई निर्देशन दिईएको छ, डा.गौतमले भने ।

यसअघि प्रयोगशालाको परिक्षण नतिजा नेगेटिभ आएमा सम्बन्धित व्यक्ति र पोजेटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा पठाउँदै आएका थिए । महाशाखाले प्रयोगशालाले दिएको पोजेटिभ रिपोर्टको आधारमा व्यक्तिलाई सङ्क्रमण भएको जानकारी दिने गरेको थियो ।

प्रवक्ता डा.गौतमले पहिलो चरणमा पोजेटिभ देखिएका व्यक्तिलाई स्वास्थ्य संस्थामा राख्ने गरिएकोमा अहिले घरमा राख्ने व्यवस्था गरेको बताएका छन । उनले भने, अहिले धेरै संक्रमित घरमै बसिरहेका छन् । उनिहरुको बारेमा प्रयोगशाले नै सबै जानकारी गराउने उनले बताए ।