सुदूरपश्चिममा घट्यो कोरोना सङ्क्रमण, जनजीवन सहज बन्दै

-



     विमलबहादुर विष्ट    
     असाेज १५ गते २०७७ मा प्रकाशित



डोटी, १५ असोज । दुई महिनाअघिसम्म सङ्क्रमण वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सङ्क्रमित छिट्टै निको भएका छन् । नौवटै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार पछिल्लो समय प्रदेशमा कोरोना निको हुनेको सङ्ख्या पाँच हजार ९२९ पुगेको छ । कोरोनाकै कारण सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भएको छ । तर पछिल्लो समय निको हुने दरमा उल्लेख्य मात्रामा वृद्धि भएको निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार यहाँ एक समय करिब सात हजार सङ्क्रमित पुगेका थिए । तर अहिले भने सक्रिय सङ्क्रमितको सङ्ख्या बढीमा एक हजार मात्र रहेको छ । उनीहरू पनि निको हुने क्रममा रहेका चिकित्सकहरू बताउँछन् । कतिपय गाउँपालिका पछिल्लो समय कोरोनामुक्त गाउँपालिका भनेर घोषणा पनि गरेका छन् । डोटीको बडिकेदार गाउँपालिका अहिले कोरोनामुक्त गाउँपालिका भएको छ । कोरोना सङ्क्रमित निको हुने दर बढेसँगै यहाँका गाउँघरको जनजीवन पुनःसामान्य बन्दै गएको पनि स्थानीयवासीहरले बताउन थालेका छन् । केही समयअघि यो गाविसमा एकैपटक १३ जना सङ्क्रमित थिए । भारतबाट आएका उनीहरूसँगै अरू पनि निको भएर घर फर्र्किएका बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीका अनुसार हालसम्म कैलालीबाट एक हजार ३३१, डोटीका ९५२, अछामका ७९५, कञ्चनपुरका ६१६, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका २८० र दार्चुलाका ४१ जना कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किएका छन् । यहाँका नौवटै जिल्लाका करिब एक हजार जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । बाँकीको विभिन्न अस्पताल तथा आइसोलेशन राखेर उपचार हुँदै गरेको निर्देशक डा अवस्थीको भनाइ छ ।

सुदूरपश्चिममा पहिलो पटक गएको विसं २०७६ चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । विदेशबाट आएका उनी सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएका थिए । जिल्लामा भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरूका परिवारमा पनि कोरोना सङ्क्रमण देखिएको स्वास्थ्यकर्मी बताउँछन् । सङ्क्रमितभन्दा पनि डिस्चार्ज हुनेको सङ्ख्या बढ्दै गएकाले कोरोनाको त्रासले खासै आत्तिइ हाल्नुपर्ने अवस्था नरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रशासन महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायतमा पनि सङ्क्रमण देखिएको थियो । कोरोनो नियन्त्रण तथा सावधानीका लागि प्रदेश सरकारसहित यहाँका सबै ८८ वटा स्थानीय तहले सावधानी अपनाएका कारण समुदायमा सङ्क्रमण फैलिन नपाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको दाबी छ । त

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरू गरिएको छ । कैलालीमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न अनुमति पाएसँगै यहाँका कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शरू गरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धानात्मक उपचार शुरू गरिएको श्रेष्ठले बताए ।

विगतका दशैँ तिहारका समयमा भारतबाट घर फर्किनेकाे लर्को लाग्ने यहाँका सीमानाकामा अहिले काम खोज्न भारत पस्नेको लर्को लाग्न थालेको छ । आउँदै गरेको दशैँ तथा तिहार जस्तो चाडपर्वको कुनै वास्ता नगरी दिनहुँ लालाबाला बोकेर पेट पाल्नकै लागि नागरिक भारत पस्दासमेत यहाँको प्रदेश सरकारसँग कुनै कार्यक्रम नरहेको दिपायल पिपल्लाका स्थानीयवासी कैलाश विकले बताए । उनले भने, “दशैँ तिहारमा कमाएर घर आउने बेला हामी भारत पस्दैछौँ ।रासस