विश्व नेताहरु: को-को बने कोरोना संक्रमित ?

-



     सफल आवाज    
     असाेज १७ गते २०७७ मा प्रकाशित



वासिङ्टन, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । ट्रम्पले ट्वीट गर्दै भने, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।” यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थिए । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराएका थिए ।
यसरी ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन
बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुन् । उनलाई गत अप्रिलमा सङ्क्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो । उनलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो । तर भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । उनले एकान्तवासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै आफ्नो कामहरु पनि गरेका थिए ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । उनले सङ्क्रमित भएको बेला मलेरिया विरुद्धको औषधि प्रयोग गरेर कोरोना भाइरसका लागि मलेरिया विरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिन खोजेका थिए । त्यो अहिले पनि अप्रमाणित नै रहेको छ । उनले सामाजिक दूरी काम गर्ने, मास्क प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गर्ने गरेका थिए । उनी लकडाउन विरोधी नेताका रुपमा पनि चिनिन्छन् । उनको श्रीमती पनि सङ्क्रमित भएकी थिइन् ।

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज
होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उनकी आफ्नी श्रीमती र दुई जना सहयोगीमा पनि संक्रमण देखिएको थियो । तर उहाँमा लक्षण भने सामन्य मात्रै देखिएको उनले बताएका थिए ।

गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते
कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि हुन्। उनलाई गत सेप्टेम्बरमा सङ्क्रमण पुष्टि भएको थियो । आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत उनले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको उल्लेख गरेका थिए । उनले पनि आफू छुट्टै बस्ने र कार्यालयका काम भने गरिरहने बताएका थिए ।

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज
बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । उनलाई गत जुलाईमा सङ्क्रमण भएको हो । सङ्क्रमित भएपछि उनी आइसोलेशनमा बस्नुपरेका थियो । उनले त्यो बेलामा कुनै असजिलो भने महसुस गरेनन् । कोरोनाबाट संक्रमित हुने उनी ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुन् । त्यसअघि ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टि भएको थियो ।

डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर
गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । उनी आफ्नो चुनाव प्रचारप्रसार अभियानकै क्रममा सङ्क्रमित भइ सङ्क्रमणमुक्त भएको समाचारमा जनाइएको छ । उनले आफ्नो निर्वाचन हुनु अगाडि नै हप्ता लामो आइसोलेशनमा पनि बस्नुपरेको थियो ।

इरानका उपराष्ट्रपति र मन्त्रीहरु
कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । देशका वरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यस बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि सङ्क्रमित भएका थिए ।
यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।
त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । विश्वव्यापी रुप्मा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी १० लाख २८ हजार १ सय ९६ जनाको मृत्यु भएको छ ।रासस